ती दोर्जेमान, यी दोर्जेमान

डाँडापारि संवाददाता
डाँडापारि संवाददाता १६ आश्विन २०७७, शुक्रबार १२:२३

बुबा रण सिं जिम्बा र आमा सविना जिम्बाको कोखबाट वि.स. २०२० साल असोज १५ गते खानीखोला गाउँपालिका वडा ३ (साविकको डाँडागाउँ गा.वि.स वडा नं. २) स्थित सौरेमा जन्मिएका दोर्जेमान जिम्बालाई अहिले पनि राजनीतिमाभन्दा समाजसेवामा बढी रुचि छ । विजय कुमार गच्छदार तत्कालीन नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काभ्रे जिल्ला कमिटि कोषाध्यक्षको रुपमा राजनीतिमा सक्रिय भएका जिम्बा गच्छदारको फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएसँगै उनी पनि अहिले कांग्रेसमै छन् । नेपाली कांग्रेस काभ्रे जिल्ला समितिमा रहेर राजनीतिलाई समेत अगाडि बढाइरहेका उनको जीवनका संघर्षका कथा डाँडापारि सन्देशका कार्यकारी  सम्पादक इकमान लामाले उतार्ने प्रयास गरेका छन् ।

१३ वर्षको हुँदा विद्यालयमा खुट्टा टेकेका दोर्जेमानले कक्षा २ सम्म भन्दा पढेनन् । स्थानीय केनाम सिं वाईबाले उनलाई क, ख सिकाए । बाल्यकालदेखि नै चकचके स्वभावका उनी कक्षा २ बाट विद्यालय जानै छाडे र उनको जीवनको औपचारिक पढाई त्यतिमै सीमित रह्यो । पढाईमा खासै उन्नती नगरेका दोर्जेमानले आर्थिक रुपमा भने उन्नती गरेका छन् । आर्थिक रुपमा सबल बनेका उनी हाल अरुका लागि प्रेरणादायी व्यक्ति समेत बनेका छन्, उनको व्यक्तित्वबाट धेरै सिक्न खोजेका छन्, अनि सिकेका छन् ।

दोर्जेमानलाई लाग्छ, उनी जति आर्थिक, राजनीतिक र अन्य सामाजिक कार्यमा प्रगती गर्न सकेका उनका समकक्षी कोही छैनन् । त्यसको कारणबारे उनी भन्छन्, ‘हाम्रो पालाका कोही कसैले पनि धेरै पढ्न सकिएन, गरिबी तथा घरको आर्थिक समस्याका कारण कसैले पनि धेरै पढेनन्, त्यसैले उल्लेखनीय प्रगती कसैले गर्न सकेनन् ।’

२ कक्षासम्म भुईमा बसेर पढेको याद पनि ताजै छ उनको मानसपटलमा । अझ शिक्षकले ‘ए, नानी बाबु हो, पढ् पढ् ।’ भनेको आजजस्तै लाग्छ उनलाई । दोर्जेमान मन्द मुस्कानमा सुनाउँछन्, ‘मास्टर आउनुहुन्थ्यो, पढ् पढ् भनेर जानुहुन्थ्यो, त्यतिबेला त सरले के पढ भन्नुभएको हो भन्ने पनि थाहै हुँदैनथ्यो ।’ पढ्नुपर्छ भन्ने चेतना नहुँदा धेरैजसोले त्यतिबेला बीचमै पर्ढा छाड्ने गरेको उनको बुझाई छ । पढाई छाडेपछि उनी गाउँघरतिर बाख्रा चराएर बसिरहेका थिए । कहिलेकाहीँ पनौतीमा धान् काट्न पुग्थे । तर, बढीजसो समय उनको गाउँघरमै बितिरहेको थियो । त्यतिबेला बोरा बोक्न सक्नेलाई रु. ३ सय र धान मात्रै काट्नेलाई २ सय दिइन्थ्यो । कहिलेकाहीँ धान काट्न पनौती आइपुगेका दोर्जेमानले बोरा बोक्न सक्दैनथे, धान काटे बापत् दिनभरीको रु. २ सय बुझ्थे ।

समय बित्दै गयो । दोर्जेमानको जीवनको अमूल्य समय यतिकै बितिरहेको थियो । एकदिन दोर्जेमानको मनमा लाग्यो, ‘के मेरो जीवन यतिकैमा सकिन्छ ?’ फेरि उनको अर्को मनले भन्यो, ‘जीवनको यो ऊर्जाशील समयलाई यतिकै खेर फाल्नु हुँदैन ।’ यस्तै कुरा उनको मनमा खेलिरहेको थियो । र, उनी निर्णयमा पुगे, अब म भागेर काठमाडौं जान्छु ।

२१ वर्षका दोर्जेमान बुवा आमलाई खबर नै नगरी काठमाडौँ पसे । काठमाडौ आएर शुरुमा उनी ललितपुरस्थित पुल्चोकमा बसे । पुल्चोकमा उनले गलैँचा बुन्न सिके । झण्डै ६ देखि ७ बर्ष उनले गलैँचा बुने । गलैँचामा दोर्जेमानले गरेको काम देखेर उनको गलैचाका मालिक प्रभावित बने । त्यसपछि साहुले विश्वास गरेर उनलाई गलैँचा मास्टर बनाए । ‘मलाई मास्टर चाहिँ म अरु जस्तो फट्याई गर्ने नभई इमान्दार भएर काम गर्ने भएर बनाएको हो भन्ने लाग्छ ।’ उनी भन्छन् ।

गाउँबाट काठमाडौं भागेर आउँदा उनको गोजीमा १५ रुपैयाँ थियो । अहिले उनीसँग करोडौँको सम्पति छ । अन्तिममा हामीले बिदा माग्दै गर्दा उनले भने, ‘सबै कुरामा मिहिनेत गर्नुपर्छ, बुद्धि लगाउनुपर्छ, बुद्धि र मिहिनेत लगाएपछि जहाँबाट पनि हामीलाई सन्तुष्टि मिल्छ ।’

गलैँचा मास्टर बनेपछि उनको जीवनले कोल्टे फ¥यो । उनले साहुको कामसँगै अब आफैँले गलैचा कम्पनी खोले । उनले छोटो समयमा नै ५० वटाभन्दा बढी गलैँचा कम्पनी चलाए । गलैँचा कम्पनी कसरी ५० वटा सम्म खोल्न सक्नुभयो ? डाँडापारि सन्देशको प्रश्नमा हल्का मुस्कानमा दोर्जेमान भन्छन्, ‘त्यो त मलाई पनि थाहा छैन, खोल्दै जाँदा ५० वटा कम्पनी पो भइसकेछ ।’ दिनहुँ उनको व्यापार फस्टाउँदै थियो । पैसा पनि उनले त्यतिबेला ४०/५० लाखभन्दा बढी कमाइसकेका थिए । तर बिडम्बना, पछि वि.स. २०४७ सालपछि गलैँचा व्यापार जोखिममा पर्दै गयो ।विस्तारै उनको व्यापार जोखिममा पर्दै गयो । गलैँचाहरु बजारमा बिक्न छाड्यो । बजारमा बिक्न छाड्नुको एउना दोषी भने दोर्जेमान पनि रहेछन्, भन्छन्, ‘गलैँचा कम्पनीहरुको एउटा संगठन थियो, जसमा ५२ वटाभन्दा बढी गलैँचा कम्पनी संलग्न थियो । मेरो साहुकै विश्वासमा मलाई त्यो संस्थाको अध्यक्ष बनाइयो । तर, पछि म अध्यक्ष भएपछि साथीहरुले मेरो साहुलाई उत्पादित गलैँचा नदिने भन्दै मलाई उक्साए र मैले पनि हुन्छ भने, त्यसपछि मेरो साहुसँग सम्बन्ध बिग्रियो र त्यति नै बेला बजार पनि बिग्रियो ।’ साहुलाई धोका दिएपछि उनलाई साह्रै नरमाइलो लाग्यो । उनलाई त्यो कुराले अहिले पनि आत्माग्लानी र पछुतो लाग्छ ।

एकातिर साहुसँगको सम्बन्ध बिग्रिनु, अर्कोतिर गलैँचाको बजार नहुनु । उनलाई जीवनको सबैभन्दा ठूलो तनाव प¥यो अब । उनले त्यतिबेला लगातार रक्सी पिएँ । त्यसबेलादेखि उनले अहिलेसम्म रक्सी पिएका छैनन् । त्यसपछि उनी फेरि राजनीतिमा लागे । राप्रपामा जिल्ला सदस्य बने । राजनीतिमा लाग्दा उनको अलिअलि भएको पैसा पनि सकियो । उनी फेरि व्यवसायतिर लागे । त्यसपछि दोर्जेमानले बुद्धि लगाए, अब म जग्गामा लगानी गर्छु । लगानी त गर्ने तर दोर्जेमानसँग पैसा थिएन ।

उनले जुक्ति निकाले । ‘अब म पहिलेका साथीहरुलाई बटुल्छु अनि उनीहरुलाई जग्गामा लगानी गर्न लगाउँछु भन्ने सोचे ।’ उनी भन्छन्, ‘साथीहरुले लगानी पनि गर्नुभयो, उनीहरुको लगानीमा मैले थोर–थोरै गरेर फेरि पैसा कमाउन थाले ।’ गाउँबाट काठमाडौं भागेर आउँदा उनको गोजीमा १५ रुपैयाँ थियो । अहिले उनीसँग करोडौँको सम्पति छ । अन्तिममा हामीले बिदा माग्दै गर्दा उनले भने, ‘सबै कुरामा मिहिनेत गर्नुपर्छ, बुद्धि लगाउनुपर्छ, बुद्धि र मिहिनेत लगाएपछि जहाँबाट पनि हामीलाई सन्तुष्टि मिल्छ ।’

(यो लेख काभ्रेबाट हरेक विहीबार प्रकाशित हुने डाँडापारि सन्देश साप्ताहिकमा पहिलो पटक २०७५ फागुन ९ गते प्रकाशित थियो।)