काठमाडौं । आम निर्वाचन नजिकिदो छ । दलहरु उम्मेदवार सिफारिसको दबाबमा छन् । चुनावी गतिविधि तीव्र गतिमा अघि बढिरहेको छ । सबै दलहरु भेला तथा बैठकको केन्द्रित भइरहेको छ ।
यही अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को हालै सम्पन्न बैठकले पार्टी अध्यक्ष खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आम निर्वाचनमा होमिने निर्णय गरेको छ । ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने विषयबारे एमालेका विभिन्न तहका नेताहरुले प्रष्ट पार्ने क्रम जारी छ ।
तर, हासोँ लाग्दो कुरा के छ भने संसदीय निर्वाचनका लागि एमालेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेको छ । जबकी संसदीय निर्वाचनमा संसदका सदस्यको मात्रै उम्मेदवार तय हुनुपर्ने हो । किनभने नेपाल अहिले संसदीय निर्वाचन प्रणालीमा छ । एमालेले भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय व्यवस्थामा जसरी खड्गप्रसादलाई प्रधानमत्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ । त्यसो त, यसअघि एमालेले मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा नगाएको पनि होइन ।
तर, जे भए पनि एमालेले जनताको बीचमा खड्गप्रसादको एकल लोकप्रियता मापन गर्ने जुन दृष्टता गरेको छ, त्यसको भने सम्मान गर्नैपर्छ । किनभने यसपटक एमालेले जनताको बीचमा एमाले र उसको विचारको होइन, केवल खड्गप्रसादको लोकप्रियता मापन गर्दैछ, किनकी एमालेका सबै सांसदलाई मत दिएर जिताउनु भनेको खड्गप्रसादलाई प्रधानमन्त्री बनाउनका लागि हो ।
एमालेले जनताको बीचमा गएर खड्गप्रसादको लोकप्रियता कसरी मापन गर्छ, त्यो एमालेको कुरा भयो । तर, आम जनताको बीचमा खड्गप्रसादको लोकप्रियता के कति छ ? यो आम निर्वाचनमा आफ्नो मतदानबाट त्यसको जवाफ दिनैपर्ने हुन्छ ।
सम्झिनुपर्ने तथ्य यो छ कि तपाईले देशका जुनसुकै निर्वाचन क्षेत्रका एमाले उम्मेदवारलाई मत हाले पनि अन्तत त्यो खड्गप्रसादलाई प्रधानमन्त्री बनाउनका लागि परिणत हुनेछ । जस्तो कि योगेश भट्टराई तपाईलाई असाध्यै मन पर्ने नेता हुन सक्छ, तर भट्टराईका लागि भनेर तपाईले दिएको मतले खड्गप्रसादको प्रधानमन्त्री बन्ने सपनामा इँटा थप्छ । कसरी भने तपाईको मतले भट्टराई निर्वाचित भएको खण्डमा एमालेको एकजना सांसद थप हुन्छ, त्यही सांसदको आँटमा खड्गप्रसादको प्रधानमन्त्री बन्ने सम्भावनामा बल पुग्छ ।
मतलब, तपाईको मत योगेशलाई सांसद बनाउनभन्दा पनि खड्गप्रसादलाई प्रधानमन्त्री बनाउन प्रयोग हुन्छ । किनकी एमालेले खड्गप्रसादलाई प्रधानमन्त्री बनाउनकै लागि घोषित रुपमा मत मागिरहेको छ । तसर्थ, देशका जुनसुकै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि दिएको मतले यसपटक खड्गप्रसादको लोकप्रियता मापन गर्नेवाला छ । त्यसकारण तपाईले आफ्नो क्षेत्रका उम्मेदवारको लोकप्रियतालाई होइन, ओलीका विगतका काम र परिणाम हेरेर मतदान गर्न जरुरी हुन्छ ।
खड्गप्रसादको विगत दुईपटक प्रधानमन्त्री काण्डैकाण्डको घेरा, संसद विघटनको कालो कथा
खड्गप्रसाद शर्मा ओली कुनै नौलो नाम होइन । मुलुकको दुईपटक प्रधानमन्त्री बनिसकेका उनी एमालेको पनि दोहोरिएर अध्यक्ष बनेका छन् ।
तर, आम निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा खडा भएका खड्गप्रसादको विगत पनि त्यति राम्रो छैन । पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रवादी नेता छवि बनाएका खड्प्रसादले दोश्रोपटक प्रधानमन्त्री हुँदासम्म आफ्नो छवि कायम गर्न सकेनन् ।
पहिलोपटक प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीविरुद्ध कडा रुपमा खडा भएका खड्गप्रसादले राष्ट्रवादी नेताको रुपमा बलियो छवि बनाएका थिए । तर, दोश्रोपटक प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग मध्यराति बालुवाटारमा गोप्य वार्ता गर्नेदेखि चुच्चे नक्सा समेटिएको किताब वितरणमा रोक्ने लगाउनेसम्मका कार्यले खड्गप्रसादको राष्ट्रवादी छवि पखालिएको थियो ।
त्यति मात्रै होइन, खड्गप्रसादको दोश्रो कार्यकालमा काण्डैकाण्डले चर्चा पाएको कार्यकाल हो । उनका प्रिय पात्र मानिने गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा ७० करोड काण्ड बाहिरिएको थियो । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो नै सार्वजनिक भएको थियो ।
ओलीका अर्को प्रिय पात्र विष्णु पौडेलको ललिता निवास काण्ड, इश्वर पोखरेलको ओम्नी काण्ड, वाइडबडी काण्ड पनि उनको दोश्रो कार्यकालमा चर्चामा रह्यो । यसबोहक गोकर्ण रिसोर्ट कौडीको भाउमा भाडामा दिएको विषय होस्, या अन्य यस्ता दर्जनौँ विषयहरु किन नहोस् आम जनतालाई थाहा नभएको विषय पक्कै होइन ।
मुख्य कुरा चाहिँ खड्गप्रसाद तिनै पात्र हुन्, जसले दुईपटक असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरे । उनको दुवै कदम असंवैधानिक थियो । दुवैपटक सर्वोच्च अदालतले उनको कदम असंवैधानिक भन्दै ओली सरकारको निर्णय बदर गरेको थियो ।
जनताको अभिमत लिएर संसद पुगेका खड्गप्रसादले संसद विघटन गर्नुको कारण एउटै थियो, ‘नेकपाभित्रको आन्तरिक कलह ।’ उनको दल नेकपाको आन्तरिक कलहका कारण मुलुकलाई अस्थिरतातर्फ लैजाने ध्येयका साथ उनले संसद विघटन गरेका थिए, जुन सफल हुन सकेन ।
तत्कालीन नेकपाभित्रको विवादका कारण आफूले प्रधानमन्त्री पद गुमाउनुपर्ने अवस्था नजिकिएपछि उनले संसद विघटन गरेका थिए । जसको व्यापक आलोचना भएको थियो । विपक्षी दलहरुले त्यसलाई ओलीको प्रतिगमनकारी कदमको रुपमा स्थापित गरेका थिए ।
हो, उनै खड्गप्रसाद फेरि प्रधानमन्त्रीका लागि मत माग्न आउँदैछन् । एमालेबाट टिकट लिएर खड्गप्रसादलाई प्रधानमन्त्री बनाउनका लागि विभिन्न नामका व्यक्तिहरु चुनावी मैदानमा आउँदैछन् । खड्गप्रसाद र एमालेका सांसदहरुलाई मत किन दिने ? एकपटक मत दिनुअघि गम्भीर रुपमा सोच्न जरुरी छ ।
के एमाले हिजोको संसद विघटनलाई गलत कदम भनेर मतदाताका अगाडि आत्माआलोचना गर्न तयार छ ? फेरि खड्गप्रसादलाई प्रधानमन्त्री बनाएपछि संसद विघटनजस्ता असंवैधानिक कदम चाल्दैनन् भन्ने सुनिश्चितता छ ? के खड्गप्रसादले आफ्ना प्रिय पात्रहरुको बारेमा छानबिन गर्छन् ? हो, आम मतदाताले मत दिनुअघि र निर्वाचनको क्रममा एमालेका उम्मेदवारलाई यो प्रश्नको जवाफ माग्न जरुरी छ ।
भनिन्छ, मतदान गर्नु भनेको आफ्नो विश्वासको दान गर्नु हो । तपाईले गरेको मतदानमाथि भोलि तपाईको प्रतिनिधिले अविश्वास र असंवैधानिक कदम नचालियोस् । बेलैमा सबैले विचार पु¥याऔँ ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |