डिबि लामा/
काभ्रे । विकासको सुचकमा पछाडि रहेको जिल्लाको विकट क्षेत्रको रुपमा परिचित खानीखोला गाउँपालिकामा विकास मुल फुट्ने क्रम जारी छ । खानीखोला गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’को नेतृत्वमा निर्वाचित टिमको अथक मिहिनेत र प्रयासबाट खानीखोलमा विकासको मुल फुट्ने क्रमले सार्थकता पाइरहेको छ ।
खानीखोलामा नयाँ आयोजनाको उद्घाटन र शिलान्यास मात्रै होइन, कैयन् आयोजना हस्तान्तरण समेत भइरहेको छ । खानीखोलाको वडा नम्बर ४ मा एकैदिन तीनवटा नयाँ भवन हस्तान्तरण भएको साता दिन बित्न नपाउँदै फेरि करोडौँको खानेपानी आयोजनाको शिलान्यास भएको छ । शनिबार भव्य कार्यक्रमका बीच वडा नम्बर १ मा कोठे–दयाँगाउँ बृहत खानेपानी आयोजनाको शिलान्यास भएको छ ।
पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ ‘लालध्वज’ले उक्त खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।
आयोजनाको शिलान्यास गर्दै सांसद दोङले कोठे दयाँगाउँका जनतालाई खानेपानीको हाहाकारबाट जोगाउने महान् अभियानको प्रारम्भ भएको बताए । उनले आफूहरु जनताको दुखको सारथी भएको बताउँदै थपे, ‘हामी जनताको सारथी हौँ, तपाईहरुको दुख सुखमा सँगै छौँ, रहिरहन्छौँ ।’
माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेका दोङले खानीखोलामा विकास मुल फुट्ने क्रम सुरु भएको बताउँदै खानीखोलालाई समुन्नत र विकसित बनाउनका लागि आफूहरुले योजनासहित कार्यक्रम अगाडि बढाउने बताए ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले आफूहरुले चुनावी वाचा पूरा गर्दै जनताको ऋण तिर्ने कामलाई जारी राखेको बताए । ‘चुनाव जिताएर तपाईहरुले हामीमाथि ऋण बोकाउनुभएको छ, आज बृहत खानेपानीको शिलान्यास भयो, यसबाट केही ऋण तिरेका छौँ’ उनले भने, ‘तपाईहरुको ऋण तिर्न अझै बाँकी छ, यहाँका बाटाघाटा, विद्यालय र अन्य भवन निर्माणदेखि विकास निर्माणका तपाईहरुका सबै सपना र हाम्रा वाचा पूरा गर्दै तपाईहरुको ऋण तिर्ने नै छौँ ।’
गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले चुनावी वाचा पूरा गर्नका लागि भाषणभन्दा काम गरेर देखाउने बताए । गाउँपालिका अध्यक्ष र आफूबीच कुनै मतभेद नरहेको बताउँदै उनले भने, ‘हामीबीच मतभेद छैन, चुनावमा जे बाचा गरेका थियौँ, हामी मिलेर त्यो पूरा गर्छौ ।’
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य मिना पाख्रिन, काभ्रेका सचिव दैवलाल घिसिङ, प्रदेश सदस्य होम बहादुर खुलाल, खानीखोला माओवादीको सचिव राजन अधिकारी, वडाध्यक्षत्रय सागर जिम्बा, निशान मोक्तान, बाबु स्याङतान, निर्माण व्यवसायी निर्मल लामा लगायतले मन्तव्य राखेका थिए ।
संघीय सरकारको विशेष अनुदानमा २०८२ असार १५ गतेभित्र सम्पन्न हुनेगरी सुरु भएको उक्त आयोजनाको कुल लागत २ करोड ७६ लाख रहेको छ ।
उक्त आयोजनाबाट खानीखोला वडा नम्बर १ का सयौं घरधुरी लाभान्वित हुनेछन् ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |