महाभारत, काभ्रे । पटक पटक थपिएको म्याद सकिन केहि महिना मात्रै बाँकी हुँदासम्म निर्माण कार्य चित्तबुझ्दो नभए पछि गाउँपालिका, पूर्वाधार कार्यालय र निर्माण ब्यवसायी बीच १० बुँदे सहमति भएको छ ।
पिङ्गथली रजवास चारकिल्ला देविटार घर्तिछाप गोकुले सडक आयोजना अन्र्तगतको तिनखुट्टे देविटार सडक खण्ड निर्माण कार्य सक्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पुर्वाधार कार्यालय र निर्माण ब्यवसायी बीच अन्तिम पटक १० बुँदे सम्झौता भएको हो ।
२०८० माघ २८ गते आर्थिक वर्ष २०७६÷२०७७ देखि निर्माणाधिन उक्त सडक खण्डको निर्माण कार्यलाई गुणस्तरीय रुपमा तोकिएको म्यादभित्र सम्पन्न गर्नका लागि पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख सि।डि।ई राजु श्रेष्ठको अध्यक्षतामा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र उपाध्यक्ष सागर मोक्तानको विशेष आतिथ्यतामा निर्माण ब्यवसायी सक्षम जे.भी.का प्रतिनिधी समिर खड्काले छिटो, छरितो र गुणस्तरीय निर्माण कार्य गराउन १० बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिवद्धतामा सम्पूर्ण निर्माण कार्य यसै चालु आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ । त्यस्तै धुलुखोपको पहिलो अफ्ठ्यारो खण्डका बारेमा प्राविधिक कार्यालयका प्राविधिक तथा थप समन्वय गरी कार्य गर्ने, कल्भर्टको कार्य चैत्र १० गते भित्र सम्पन्न गर्ने, ६ किमी सडकको बेस राख्ने कार्य फागुन ११ गते देखि सूचारु गर्ने, फागुन ७ गते देखि दोश्रो अफ्ठ्यारो ठाउँमा कटिङ कार्य शुरु गर्ने, निर्माण स्थलमा ७ दिन भित्र आईपिसीको भुक्तानी लिएर साईडमा आवश्यक पर्ने सबै प्रकारका मेशिन तथा औजार र आवश्यक जनशक्ति लैजाने उल्लेख छ ।
निर्माण स्थलमा आवश्यक पर्ने निर्माणजन्य सामाग्री अभाव हुन नदिन ढुंगा, बालुवा, उत्खनन, विक्री ताथ ब्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ बमोजिम गर्ने सहमति भएको छ ।
निर्माण ब्यवसायीको लार्पवाहिका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थानमा पुग्ने सडक अलपत्र परेको थियो । २०७९ असार मसान्तसम्म अवधी रहेको निर्माण कम्पनीले अलपत्र सडक निर्माण गर्न थप समय पाएको भए पनि उक्त समय भित्र पनि निर्माण कार्य सम्पन्न नगरे पछि १० बुँदे सहमति गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
उक्त सडक अलपत्र हुँदा वर्षातको समय ८ महिना सडक अवरुद्ध हुन पुग्यो । सडक फराकिलो बनाउँदै कालोपत्रे सम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण नागरिकहरुले दुख पाउन बाध्य भएका छन् । डाँडापारीका नागरिकहरुको सवारी साधन चढेर गन्तब्य पुग्ने सपना निर्माण ब्यवसायीको ढिलासुस्तिका कारण तुषारापात हुन थालेको छ ।
२०७७ असोज २० गते भब्य तामझामका साथ बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तिनखुट्टेमा शुभारम्भ गर्नु भएको मंगलबाटर–चारकिल्ला–तिनखुट्टे–बनखु सडक शिलान्यास गरेका थिए । सडक सम्पर्क नै नभएर विकट मानिदै आएको महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डको ८।७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो ।
४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँ खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो । सोहि सडकको शिल्यान्यास २०७७ असोज २० गरिएको थियो ।
तिनखुट्टे देबीटार सडक खण्डमा सडक स्तरोन्नती अन्र्तगत नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याबिङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचना सँगै ३० एमएमको कालोपत्रे गरिनेछ । पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्कि पुल निर्माणका लागि शुरु भएको काम पनि अलपत्र परेको छ ।
महाभारत पुग्ने पिन्थली रजवास तिनखुट्टे देविटार घर्तिछाप गोकुले सडक आयोजनाको बाँकी सडक कालोपत्रे गर्न, सिपाली बुढाखानी बनखु सडकको स्तरोन्नतीका लागि बजेट ब्यवस्था गर्न, ताराखसे रज्जेडँडा गोकुले सडक आयोजना, राङचा वनखु घर्तिछाप गोकुले ताल्ढुंङ्गा मिल्चे सडक स्तरोन्नती गर्न, पार्वतीखोला, खानीखोला र तिनखुट्टै खोला पुल निर्माण गर्न र बनखुखोला पुल, देविटार निर्माणको लागि बागमती प्रदेश सरकारले बजेट ब्यवस्थापन गरेको अध्यक्ष जिम्बाले बताए ।
बागमती प्रदेश सरकारले उक्त सडकलाई जनमुक्ति मार्गका रुपमा विकास गर्ने गरी कार्य प्रारम्भ गरेको छ ।
डाँडापारि सन्देशका लागि
पनौती–०४, काभ्रे, बागमती प्रदेश
सम्पर्क कार्यालय बनेपा, काभ्रे
9843429869
जिल्ला प्रशासन का. दर्ता नं. : ९० (०७३/०७४)
प्रेस काउन्सिल सुचीकरण नं.: ......
सूचना विभाग दर्ता नं.: .....
प्रकाशक : | बुद्ध लोप्चन |
प्रबन्धक : | डिबि लामा | सम्पादक : | लक्ष्मण तामाङ |
कार्यकारी सम्पादक : | इकमान लामा |
सम्वाददाता : | बिजय जिम्बा |