बहुप्रतीक्षित काभ्रे उपत्यका खानेपानी परिक्षणको काम धमाधम

काभ्रे/ जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकाको बहुप्रतीक्षित काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको खानेपानीको परीक्षण सुरु भएको छ । करिब एक महिनाअघि पनौती शारदादेवी स्थानमा रहेको आयोजनाको मुख्य ट्याङ्कीमा खानेपानी खसालिएपछि विभिन्न स्थानमा रहेका खानेपानीका रिजभ्र्वायर ट्याङ्कीमा पानी खसाल्ने काम अघि बढाइएको हो ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका आयोजना व्यवस्थापक प्रतिज्ञा मानन्धरले पनौती–९, शारदादेवीस्थानमा रहेको ट्याङ्की, पनौतीको कपालकोट, बनेपाको धनेश्वर, बनेपाको शशीपानी ट्याङ्कीमा पानी खसालिएको जानकारी दिए । उनले पनौतीको शारदादेवीस्थानमा रहेको खानेपानीको मुख्य प्रशोधन केन्द्रमा खानेपानी फिल्टरका लागि फिल्डर मिडिया जडानको काम तीव्र गतिमा भइरहेको र आगामी १० दिनभित्र फिल्टर मिडिया जडानको काम सम्पन्न हुने बताए । मानन्धरले बनेपा, पनौतीका विभिन्न ट्याङ्कीमा पानी खसालिएसँगै अन्य स्थानमा रहेका ट्याङ्कीमा समेत पानी पठाई खानेपानीकोे चुहावट हेर्ने काम अघि बढाइएको बताए ।

उनले खानेपानीको बाँसघारी, कुप्सडाँडा, बनेपाको ठकुरीगाउँ, पनौतीको चामखर र सल्लेमा रहेको खानेपानीको ट्याङ्कीमा पानी परीक्षणको काम भइरहेको बताए । उनले खानेपानी आयोजनामा कामको ठेक्का पाएको कम्पनीले गत फागुन २३ गतेबाट ४५ दिनभित्र आयोजनाका सबै खानेपानी ट्याङ्कीमा खानेपानी खसाल्ने प्रतिबद्धता जनाएको आयोजना व्यवस्थापक मानन्धरले बताए । आयोजनाले खानेपानी उपभोग गर्ने बनेपा, धुलिखेल तथा पनौती नगरपालिकाको विभिन्न स्थानमा मुख्य पाइप लाइन, वितरण लाइनमा पानी पठाई खानेपानीको चुहावट परीक्षण गर्ने काम अघि बढाइएको जनाएको छ ।

आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले बनेपाको चाँदनीचोक, चारदोबाटो, आजाद‚ कुल नजिकलगायतका केही स्थानमा खानेपानी संस्थान बनेपाको खानेपानी पाइपमा आयोजनाको पाइप जोड्ने कार्य भइरहेको बताए । उनले विभिन्न ट्याङ्कीमा पानी पठाउने क्रममा पानी चुहावट भएका स्थानमा मर्मत सम्भारको काम सम्पन्न भएको बताए । उनले आयोजनाको करिब ९८ प्रतिशत काम सम्पन्न भएको बताए ।

खानेपानी आयोजनाका लागि सन् २०१० अक्टोबर २६ मा नेपाल सरकार र एसियाली विकास बैङ्कबीच ऋण सम्झौता भएको थियो । आयोजनाका लागि लाग्ने कुल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एसियाली विकास बैङ्कबाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण लिइएको छ । बाँकी १५ प्रतिशत रकम तीनवटै नगरपालिका र स्थानीय उपभोक्ताबाट बेहोरिने छ । आयोजनाका लागि आवश्यक पर्ने ३५ प्रतिशत रकम ऋण लिनका लागि नगर विकास कोषसँग २०६९ असार २३ गते मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना, नगर विकास कोष र काभ्रे उपत्यकाका तीनवटा नगरपालिकाबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको थियो । सम्झौताअनुसार काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको कुल लागतको ३५ प्रतिशत रकम नगर विकास कोषबाट ऋणका रूपमा प्राप्त गर्नेछ ।

वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको सावाँ र ब्याज तीनवटै नगरपालिकाबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । खानेपानी आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण व्यवसायी कम्पनी निम्बो निङसिङ इन्टरनेसनल इङ्कले पाएको थियो । निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीको सन् २०२० नोभेम्बर ३० बाट म्याद सकिएको छ । म्याद सकिएपछि काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डले ठेकेदार कम्पनीलाई हर्जना तिराएर काम लगाएको छ । आयोजनाको कुल लागत भ्याट र कन्टिजेन्सीबाहेक ९९ करोड आठ लाख सात हजार ८२१ रुपियाँ रहेको छ । आयोजनाबाट सन् २०२४ सम्म बनेपा, धुलिखेल र पनौती नगरपालिका एक लाख ४० हजार जनसङ्ख्या लाभान्वित हुनेछन् । एक दिनमा एक व्यक्तिलाई ६५ देखि ८० लिटर पानी उपलब्ध गराइने छ ।

गोरखापत्र

सम्बन्धित खबरहरु