पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमितिद्वारा सपथसहित पदभार ग्रहण

बनेपा, काभ्रे/ नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमितिसहितका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । मंगलबार महासंघ काभ्रे शाखाको कार्यालयमा निर्वाचन समितिका संयोजक तथा महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष भोला थापाले नवनिर्वाचित महासंघ काभ्रे शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

महासंघको जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्ष बद्रीराज तिमल्सिना, उपाध्यक्ष विनोदकुमार न्यौपाने, महिला उपाध्यक्ष सुनिता सापकोटा, सचिव कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, सहसचिव सरोज अधिकारी, समावेशी सह–सचिव जगतमान वल लगायतका सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरी पदभार सम्हालेका छन् । महासंघको चैत २५ गते भएको मतदानको औपचारिक घोषणा निर्वाचन समितिले सोही दिन राती करिब १० बजेको समयमा गरेको भएपनि पदभार ग्रहण तथा सपथ ग्रहण भने चैत्र ३१ अर्थात् मंगलबार गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष बद्रीराज तिमल्सिनालाई पद हस्तान्तरण गरे । त्यस्तै, निवर्तमान सचिव नगेन्द्र अधिकारी लगायतले आ–आफ्नो पद नवनिर्वाचित पदाधिकारीलाई कुर्सीमा बसाएर पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै महासंघ काभ्रे शाखाको कार्यसमितिका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले प्रस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि सबै श्रमजीवी पत्रकारहरू एक जुट भएर अघि बढ्नुपर्ने समय आएको उनले बताए । उनले अग्रज पत्रकारको त्याग र निवर्तमान कार्य समितिको योजनालाई सम्मान गर्दै आफू नेतृत्वको महासंघको तर्फबाट काभ्रेली पत्रकार र सन्चारमाध्यमको विकासका लागि आवश्यक काम गरिने प्रतिबद्घता व्यक्त गरे । अध्यक्ष तिमल्सिना महासंघ निर्वाचनमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त गठबन्धनबाट विजय भएका हुन् । सोही अवसरमा महासंघको प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यमा निर्वाचित भएकाहरुलाई पनि प्रमाणपत्रसहित सम्मान गरेका छन् ।

त्यस्तै, अध्यक्ष प्रत्याशी नवराज बजगाईले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामलाई स्वीकार गर्दै अध्यक्ष निर्वाचित तिमल्सिनालाई बधाई दिएका छन् । ‘चुनावी प्रक्रियामा सहभागी भएपछि परिणामलाई स्वीकार गर्नुपछ’, उनले भने, ‘म तिमल्सिनासहित नेपाल पत्रकार महासंघको नेतृत्वमा निर्वाचित सबै साथीहरूलाई बधाई दिन्छु ।’

महासंघको चैत २५ गते भएको मतदानको औपचारिक घोषणा निर्वाचन समितिले सोही बेलुका गरेको पनि पदभार ग्रहण तथा सपथ ग्रहण भने चैत्र ३१ गते गरेको हो । निर्वाचनमा अध्यक्षमा विजयी तिमल्सिनाले ६८ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी बजागाईंले ५१ मत ल्याएका छन् । अध्यक्ष पदमा तिमल्सिना र बजागाईंको मतअन्तर ७ रहेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिका निवर्तमान तथा पुर्वअध्यक्ष पत्रकारिताको विकासलाई अघि बढाउन सबै पत्रकारहरू एकजुट हुनु पर्नेमा जोड दिएको उक्त कार्यक्रममा राजनितिकर्मी, व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेका थिए ।

 

 

सम्बन्धित खबरहरु