नसुल्झिएको प्रेम

♦ बिशाल श्रेष्ठ
मनोभावः नसुल्झिएको प्रेम
धेरै भयो तिम्रो आवाज नसुनेको
तिम्रो आवाजले मेरो आवाजलाई चिन्छ होला नि है …

धेरै भयो तिम्रो धडकनमा मेरो टाउको राखेर ननिदाएको
बिर्सिएको छैन होला नि हैन तिम्रो मनले
मेरो मनलाई …
सम्झिन्छ होला कहिलेकाही धड्किन्छ होला कहिलेकाही
जोडले मेरो लागि …

तिम्रा हातहरुले मेरा हातहरुलाई बिर्सिए होला कि
खोजिरहन्छन् अझै
धेरै भएछ ती हातहरु समाएर सँगै नडुलेको पनि …

हामी मिल्ने चिया पसल, त्यो छत त्यो चौतारी हरुले
सम्झन्छन होला है अझै
महिनामा, हप्तामा मिल्नेहरु कहाँ गए अचेल सोच्छन्
होला है …

बद्लिएको त सिर्फ समय मात्र न हो
हालत मात्र न हो, हालतसँगै
तिम्रो बोल्ने, सुन्ने, हिँड्ने, सम्झने, जिस्कने,
रिसाउने, कराउने आदत मात्र न हो …

म त जहाँको तहीँ छु, जस्ताको तस्तै छु
जस्तो हिजो चाहान्थेँ आज नि उस्तै गरि चाहन्छु …

बिर्सनेहरुलाई सम्झ भनेर सम्झाउन पनि त सक्दिन
चाहाना नहुनेहरुलाई चाह गरिदेउ भन्न पनि त सकिँदैन …

कामै नलाग्ने कुराहरू पनि कहिलेकाही काम लाग्छन्,
काम लागोस यो मायाको तर
ढिला नहोस !

माफ गर प्रिय,
मलाई तिम्रो याद आउँदैन !
आउँछ त केवल मेरो खिल्ली उंडाएर तिमी जोडजोडले हाँसेको याद आउंछ १ साना साना कुरामा तिमी ठुस्किएको याद आउंछ ! मैले आफ्नो ख्याल नराख्दा तिमी डरलाग्दो गरी रिसाएको याद आउँछ १ मेरा पसिनाहरुलाई एकटकले हेरेर तिमीले आँशु खसाएको याद आउँछ १ तर माफ गर प्रिय, मलाई तिम्रो याद आउँदैन !
तिम्रो मन अत्तालिंदा मलाई कंसेर अँगालेको याद आउँछ १ तिम्रा नरम औंलाहरुले साह्रोगरी घोचेको याद आउँछ ! तिम्रा ताता र नुनिला आँशुले तिम्रो आँखा,गाला हुँदै मेरो छाती भिजाएको याद आउँछ ! मेरा यिनै हातले सुम्सुमाएका तिम्रा कपालका मसिना त्यान्द्राहरुको याद आउँछ१ तर माफ गर प्रिय, मलाई तिम्रो याद आउँदैन !
समय सक्किएला या हामी सक्किउंला नसोची विभिन्न समयमा विभिन्न समयका लागि वर्गीकरण गरिएका योजनाहरुको याद आउँछ ! हामीले सँगै देखेका कलिला सपनाहरुको याद आउँछ ! हाम्रा नजन्मिएका सन्तानहरुको नाम अनि सम्भावित मुहार अनि उनीहरुको काल्पनिक आवाज याद आउँछ ! तर माफ गर प्रिय, मलाई तिम्रो याद आउँदैन !
तर, अँ तिम्रो याद आउँछ, केवल एउटा कुरामा ! त्यहाँ तिमि छुट्टै अनि म यता छुट्टै हुदा हाम्रो अधुरो कहानीबारे के सोच्दी हौँ भनेर तिम्रो साह्रै याद आउँछ प्रिय ! मलाई माफ गर प्रिय, तिम्रो याद आउँदैन भनेकोमा ! मलाई तिम्रो साह्रै याद आउँछ प्रिय, सधैं याद आउँछ !
हालः दक्षिण कोरिया

सम्बन्धित खबरहरु