त्रिकोणात्मक ट्वान्टी–२०ः नेपाललाई ११० रनको लक्ष्य

काठमाडौँ/ नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको मलेसियासँगको खेल जित्न १ सय १० रनको मध्यम चुनौती पाएको छ । टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भयो ।

करण केसीले ३ विकेट लिँदै मलेसियालाई धरासायी बनाए । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १÷१ विकेट रहयो ।

मलेसियाबाट ओपनर सैयद अजिजले सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फेज ३ रनमा रनआउट हुनु मलेसियाको दुर्भाग्य रहयो । उनलाई विकेटकिपर विनोद भण्डारी र करणले मिलेर रनआउट गरे ।

सर्भिन मनिआन्डीले २० र सफिक सरिफले १५ रन बनाए । नेपालले यो खेल जितेमा फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २÷२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ ।

सम्बन्धित खबरहरु