चीनले दिए भारतलाई जवाफः कुनै स्थानबाट पछि हट्दैनौं

सीमामा तनाव गरिरहेका भारत र चीनबीच वार्तामा फेरि गतिरोध निम्तिएको छ । चीनले भारतलाई लद्दाखस्थित वास्तविक नियन्त्रणरेखा (एलएसी) स्थित हट स्प्रिङ र गोगरा पोष्टबाट नहट्ने जवाफ दिएसँगै गतिरोध लम्बिएको हो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित एक समाचाअनुसार पूर्वी लद्दाखमा चीन र भारतबीच नियन्त्रण रेखामा जारी तनाव शुरु भएको एक वर्ष पुग्दैछ । तनाव हटाउन दुवै देशका सैन्य अधिकारीहरूबीच कम्तिमा ११ पटक वार्ता भइसकेको छ, तर विवादका मामिला अझै कायमै छन् ।

पछिल्लो पटक अप्रिल ९ तारिखमा दुई देशका कमाण्डरहरूबीच वार्ता भएको थियो । सो वार्ता क्रममा चीनले हट स्प्रिङ र गोगरा पोष्टबाट आफ्ना सैनिक फिर्ता लैजान अस्वीकार गरेको थियो । देपसाङ समथरलगायत स्थानमा सैनिक तैनाथीका कारण दुई देशबीच तनाव निम्तिएको थियो ।

यसअघि पेगोङ त्सो ताल र कैलाशको उत्तर तथा दक्षिणतर्फ रहेको सैनिक दुवै देशले हटाएका थिए।

सन् १९६२ देखि युद्ध र तनाव श्रृंखला जारी
भारत र चीनबीच १९६२ मा व्यापक स्तरको परम्परागत युद्ध (कन्भेन्सनल वार) भएको थियो ।

१९६७ मा भएको सैनिक तनावलाई झडपको संज्ञा दिइए पनि त्यतिखेर चिनियाँ जनमुक्ति सेनाले सिक्किमलाई लगभग कब्जा गरेको थियो । चीनले ना थुलामा रहेको भारतीय सैनिक पोष्ट नै उडाइदिएको थियो ।

तर, भारतीय सैनिकका लागि अनुकूल भूगोल रहेका कारण चिनियाँ जनमुक्ति सेना पछि हटेको थियो । ११ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म चलेको सो सैनिक तनाव अन्त्यका लागि सिजफायर गर्न दुवै देश सहमत भएका थिए ।

सन् १९७५ मा फेरि सैनिकहरूको ज्यान नै जानेगरी भारत र चीनबीच सीमा विवाद चर्किएको थियो। अरूणाञ्चलबाट चीनको भूभागमा छिरेर गस्ती गरिरहेका भारतीय सैनिकमाथि चिनियाँ सैनिकले हमला गरेका थिए। त्यतिखेर पनि केही भारतीय सैनिकको ज्यान गएको थियो।

त्यसयता पनि भारत र चीनको सिमानामा दुई देशका सेनाबीच झडप भएपनि सैनिकहरूको मृत्यु हुनेगरी तनाव बढेको थिएन । तर, गत वर्ष असार १ गते सोमबार लद्दाखको गलवान उपत्यकामा भएको झडपमा कमान्डरसहित २० भारतीय सैनिक घटनास्थलमै मारिएका थिए। चीनतर्फ पनि सैनिक हताहती भएको थियो ।

भारत र चीनबीच बारम्बार सीमा विवाद भएपनि त्यतिखेर सैनिकको ज्यान नै जानेगरी ४५ वर्षपछि हिंसात्मक झडप भएको हो । प्रायः सबै छिमेकी सबै देशहरूसँग भारतको सीमा विवाद छ । विवाद नै नभएपछि कहिले सीमा अतिक्रमण गरेर त कहिले नक्सामा छिमेकीको भूगोल हुलेर भारतले यस्तो विवाद निम्त्याउने गरेको छ ।

सम्बन्धित खबरहरु