काभ्रे जिल्ला लिग फुटबलः उपाधीका लागि एविसी र विविसि भिड्दै

धुलिखेल, काभ्रे/ काभ्रे जिल्ला लिग फुटबलको उपाधी भिडन्त मंगलबार हुँदैछ । यसका लागि आकाश भैरव क्लव (एविसी) र बनेपा ब्वाइज क्लव (विविसी) भिड्दैछन् । काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास श्रेष्ठका अुनसार धुलिखेलस्थित् धुलिखेल रंगशालामा हुने फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । एविसी लिगको साविक विजेता क्लवसमेत हुन् ।

विविसीका अध्यक्ष महेश कर्मचार्यले आफ्नो क्लवको योजना एविसीको उपाधिको यात्रामा पुर्णविराम लगाउदै उपाधी जित्ने रहेको बताए । ‘लिगमा फाइनलसम्म आइपुग्दा खेलाडीले उत्कृष्ट प्रदान गर्दै आएको र कुनै पनि खेलाडी घाइते नभएको कारण उपाधी जित्नेमा म विश्वास्त छु’ उनले भने । विविसीका अध्यक्ष कर्मचार्यले भने झैँ स्थिर प्रर्दशन र टिम गेमको राम्रो नमुना प्रस्तुत गरेको विविसी लयमा देखिन्छ । फाइनल खेलमा एविसी भने आफ्नो उपाधीको यात्रालाई कायम नै राख्ने योजनासहित मैदानमा उत्रिनेछ ।

त्यस्तै, दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधी जित्नेमा ढुक्क समेत छन् । लिगमा एविसी १–० गोल अन्तरले माउण्ट एभरेष्ट फुटवल क्लवलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । त्यसैगरी मानेश्वर फुटवल क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै विविसी फाइनलमा पुगेको हो ।

लिग विजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगका उपविजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै, जिल्ला लिगका विजेता क्लवले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने संघले जनाएको छ ।
संघका संघका सचिव जोयोज नरसिं श्रेष्ठले जिल्ला लिग प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । लिगको हरेक खेलमा विजेता क्लवलाई म्याचमनी बापत् ३ हजार र बराबरी हुने क्लवलाई आधा÷आधा प्रदान गर्दै आएका छन् ।

 

सम्बन्धित खबरहरु