ओली धुन्धकारी, झुटको पुलिन्दा र अराजकताको पर्याय र ध्वंसको बाहक हो–माधवकुमार नेपाल

ओलीको यही शैली रहे अन्य प्रदेशमा पनि ‘फ्लोर क्रस’ हुन सक्छ– लक्ष्मण लम्साल

बनेपा, काभ्रे/ पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली धुन्धकारी, झुटको पुलिन्दा, अराजकताको पर्याय र ध्वंसको बाहक भएको आरोप लगाएका छन् । आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले उक्त आरोप लगाएका हुन् ।

कार्यक्रममा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएको गम्भीर आरोप लगाए । ‘राजतन्त्र उन्मुलन गरेर गणतन्त्र स्थापना गर्ने बेला पनि ओली गणतन्त्र विरोधी थिए’, उनले भने, ‘ओलीले संघीयता र गणतन्त्र बाध्य भएर मात्रै मानेको हो । तर उनमा त्यसप्रती कुनै माया छैन । किनभने नेपाली जनताको चाहाना सिध्याएर विदेशीको इशारामा काम गरिरहेका छन् ।’

कार्यक्रममा अधिकांश समय ओलीविरुद्ध खनिएका नेता नेपालले कम्युनिस्टमा व्यक्तिभन्दा नीति प्रधान हुने हुँदा आफुहरुले व्यक्तिगत रूपमा ओलीको नभई ओलीप्रविधीको विरोध गरेको बताए । ‘ओलीको दर्शन, सिद्धान्त लुट, भ्रष्टाचारिको संरक्षण गर्नु हो । ओली बालुवा हो, बालुवालाई पेलेर तेल निस्किदैन’, उनले भने, ‘हामी हिटलर बन्न खोज्ने र कम्युनिस्ट आन्दोलन सिध्याउन खोज्नेहरुको बाटोमा होइन काल माक्र्स र लेनिनको बाटोमा जान चाहेको हो ।’

त्यस्तै, नेता नेपालले ओलीकै कारण पार्टी र कम्युनिस्ट संकटमा परेको दाबी गरे । ुहामी पार्टी संगठन बनाउन लाग्यौ तर ओली मदन भण्डारी फाउन्डेसनको नाममा भजनमण्डली बनाउदै हिडेँ’, उनले भने, ‘प्रधानमन्त्री ओलीलाई काँधमा बोकेर हिडेको फोहोर मात्रै बनाए । अहिले ओली श्रीपेच लगाएर बसेका छन्, हेर्दै जानुस् त्यो खुस्किन धेरै दिन लाग्दैन ।’

राजनीति गजेडीको गफ र फोहोरी खेल नभई राजनीति आदर्श र मुल्य मान्यतासँगै राज्य सन्चालनको मुल नीति भएको उनको भनाई छ । उनले ५५ बर्षको राजनीतिक जिवनमा धेरै चुनौतीको सामाना गर्दै विभिन्न आन्दोलनको अग्रपंक्तिमा रहदै आएको बताए । उनले आफू अधिकार, लोकतन्त्र र आत्मासम्मानसँगै इमान्दार, सत्य निष्ट, जनतामा सेवाको भावना हुर्काउन र जनतामाथी भएको शोषण, अत्याचार र बेरोजगारी लगायतको अन्त्यका लागि राजनीतिमा लागेको बताए ।

कार्यक्रममा बोल्दै नेता नेपालले ओली पक्षधरले कार्णलीमा राजनीतिक भविष्य सिध्याईदिन्छु भन्ने धम्की दिएकाले उसैलाई सिध्याइदिएको बताए । ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दै छु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि मर्ता क्या नै कर्ता भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको विजोग भएको छ’, उनले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ । मेरो आदेश पालना र्गुपर्छ भन्ने सोचका कारण हो ।’

त्यस्तै, एमालेका बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले ओलीको अराजकता र निरंकुश शैलीको विरोध गर्नुपर्ने तर्क गरिन् । एमालेका बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले भने ओलीको यही शैली रहे अन्य प्रदेशमा पनि ‘फ्लोर क्रस’ हुने बताए ।

पार्टी जिल्ला अध्यक्ष टोकबहादुर वाइबाको अध्यक्षतामा २०१ सदस्यीय पूर्ण जिल्ला कमिटीसँगै विभिन्न भातृ संगठनसमेत पुर्नगठन गरेको छ ।

सम्बन्धित खबरहरु