एविसीलाई काभ्रे जिल्ला लिग फुटबलको उपाधि

विविसी उपविजेतामै सिमित

धुलिखेल, काभ्रे काभ्रे/ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि आकाश भैरव क्लब (एविसी)ले जितेको छ । मंगलबार जिल्लाको धुलिखेलस्थित धुलिखेल रंगशालामा सम्पन्न भएको फाइनल खेलमा बनेपा ब्वाइज क्लब (विविसी)लाई ट्राइब्रेकरमा ४ गोलका विरुद्ध ५ गोल गर्दै एविसीले उपाधि हात पारेको हो ।

फाइनलको निर्धारित समय र थप गरिएको ८ मिनेटको खेल एकरएक गोलको बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । जसमा एविसीले विविसीलाई ५(४ गोल अन्तरले पराजित गरेका हुन् ।

लिग विजेता एविसीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता विविसीले नगद २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्यान्जुले खेलाडीहरुलाई ट्रफीसहितका पुरस्कर प्रदान गरेका हुन् ।

जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विविसीका समन श्रेष्ठ उत्कृष्ट खेलाडी र साइल केसी उत्कृष्ट स्ट्राइकर घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् । यस्तै, उपाधि चुमेका एविसीका विकास कार्की उत्कृष्ट डिफेन्डर, राजेश कार्की उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट सोनाम वाईबा गोल किपर र एरिज राई उच्च गोलकर्ता घोषित हुँदै सबैले पुरस्कार स्वरुप ट्रफी पाएका छन् ।

काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास श्रेष्ठले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार भएको जिल्ला लिग प्रतियोगितामा आठ टोली सहभागी भएको जानकारी दिए । संघका सचिव जोयोज नरसिं श्रेष्ठले काभ्रे बोडर फुटबल क्लव साँगा लिगबाट पहिलो श्रेणीमा घटुवा भएको र बनेपा फुटबल क्लव भने दोस्रो श्रेणीमा बढुवा भएको जानकारी दिए । उनले पहिलो श्रेणीबाट बढुवा भएको बनेपाले अर्को वर्ष हुने जिल्ला लिगमा सहभागी जनाउने बताए । जिल्ला लिगका विजेता क्लवले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने संघले जनाएको छ ।

लिगको सेमीफाइलनमा एविसीले १–० गोल अन्तरमा माउन्ट एभरेष्ट फुटबल क्लबलाई र विविसीले ४(० गोल अन्तरले मानेश्वरी फुटबल क्लबलाई हराएको थियो ।

सम्बन्धित खबरहरु