युनाइटेड कपको उपाधि गोकुलेलाई, घर्तिछाप उपविजेतामै सिमित

घर्तिछाप, काभ्रे/ जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा आइतबार सम्पन्न युनाइटेड कप–२०७७ को उपाधि महाभारत–१ गोकुलेले जितेका छन् । गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल ‘युनाइटेड कप–२०७७’ गोकुलेले महाभारत–८ घर्तिछापलाई हराउँदै उपाधि रक्षा गरेका हुन् ।

प्रतियोगिताको विजेता गोकुलेले नगद ५० हजारसहित त्यस्तै उपविजेत र तृतीय हुन सफल टिमले क्रमशः नगद ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितमा महाभारत–६ बनखु तृतीय हुन सफल भएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले विजेता खेलाडीहरुलाई उक्त पुरस्कार हस्तान्तरण गरी सम्मान गरेका हुन् ।

उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य माननीय रत्न ढकालले गरेका हुन् भने समापन गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले गरेका छन् । प्रतियोगिता महाभारत गाउँपालिकाको आर्थिक सहयोग तथा युनाइटेड एसोसिएसनको आयोजनामा फागुन २७ गतेदेखि महाभारत–८ स्थित् घर्तिछापमा रहेको जनकल्यण माध्यमकि विद्यालयको प्राङ्गणमा भएको थियो ।

समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जिम्बा, जनप्रतिनिधिहरु, समाजसेवी तथा बुद्धिजीवीहरु, खेलाडीहरु र पत्रकार तथा स्थानीयको उपस्थिति रहेका थिए ।

सम्बन्धित खबरहरु