च्याम्पियन्स लिगः क्वाटरफाइनल पुुग्न बार्सिलोनालाई पीएसजीविरुद्ध धेरै गोल गर्नुपर्ने चुनौती

काठमाडौं च्याम्पियन्स लिग उपाधि अभियानमा रहेको फ्रेञ्‍च क्लब पीएसजी क्वाटरफाइनल नजिक छ। बुधबार राति बार्सिलोनाले कुनै चमत्कार नगरेको खण्डमा पीएसजीले अन्तिम ८ मा स्थान बनाउने छ।

पहिलो लेगमा ४(१ को प्रभावशाली जित निकालेकाले पीएसजी सहज रूपमा क्वाटरफाइनलमा पुग्ने विश्वासमा छ। तर, लियोनेल मेस्सीको बार्सिलोनासँग पीएसजी सचेत भने हुनेछ।

पहिलो लेगमा ब्राजिलियन स्टार नेयमार बिना उत्रिएको पीएसजी दोस्रो लेगमा पनि उनको अनुपस्थितिमै मैदानमा हुनेछ।

बार्सिलोनामा पनि गेर्राड पिके र रोनाल्डो अराउजो हुनेछैनन्। पिकेले कोपा डेल रे दौरान सेभियाविरुद्ध खेल्दा घुँडामा चोट बोक्न पुगेका थिए। अराउजोको पनि एङ्कलमा चोट लागेको छ।​

पीएसजीको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनालाई गोल गरेमात्र पुग्ने छैन, धेरै गोल गर्नुपर्ने चुनौती छ। बार्सिलोनाले गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा वार्यन म्युनिखसँग ८–२ को फराकिलो हार भोग्न बाध्य भएको थियो।

बार्सिलोनाले पछिल्ला १६ च्याम्पियन्स लिग भिडन्तमध्ये १३ सिजनमा क्वाटरफाइनलमा स्थान बनाएको छ। तर, यो पटकको प्रतिष्पर्धा भने उसका लागि थप चुनौतीपूर्ण बनेको छ।

प्रशिक्षक रोनाल्ड कोम्यान भने टिमले पुनरागमन गर्नेमा आशावादी छन्। उनी भन्छन्, ुघरेलु मैदानमा ४(१ ले पराजित भएपछि स्वभाविक रूपमा गाह्रो छ, तर असम्भव भन्ने केही पनि हुन्न।ु उनले बार्सिलोनाले धेरै अप्रत्यासित नतिजा आत्मासात गरेको भन्दै बलियो आत्मविश्वास बनाएर मैदानमा उत्रने उनले बताए।

टोटनह्यामलाई २०१८(१९ को सिजनमा फाइनल पुर्‍याएका पीएसजीका प्रशिक्षक माउरिसिओ पोचिटिन्हो भने बार्सिलोनाविरुद्ध संयमित भएर घरेलु मैदानमा जित निकाल्ने अपेक्षामा छन्।

त्यसो त, बार्सिलोनाविरुद्ध पीएसजीले च्याम्पियन्स लिगमा खेलेका ३ मध्ये २ खेलमा जित निकालेकाले छ। त्यसैले ऊ थप आत्मविश्वासी देखिएको छ।

च्याम्पियन्स लिगको नकआउट चरणमा घरेलु मैदानमा ३ भन्दा बढी गोल खाएर पुनरागमन कुनैपनि टीमले नगरेकाले बार्सिलोना अपवाद बन्ने सम्भावना निकै कमजोर छ।

बार्सिलोनाले च्याम्पियन्स लिगमा अवे मैदानमा खेलेका पछिल्ला ९ मध्ये केवल १ खेलमा मात्रै जित निकालेको छ। उसले सन् २०१९ अप्रिलमा म्यानचेस्टर युनाइटेडलाई १(० गोलअन्तरले हराएको थियो। बार्सिलोनाले तीन खेल बराबरी र ५ खेलमा हार भोगेको छ।

समग्रमा बार्सिलोनाको पुनरागमन संभावना निकै कमजोर छ। यद्यपिस फराकिलो हारबाट जोगिनु बार्सिलोनाका लागि निकै महत्वपूर्ण रहनेछ।

सम्बन्धित खबरहरु