ती मजदुर जसलाई बन्दले छेकेनन् (फोटोफिचर)

बनेपा, काभ्रे/ बिहानको झिसमिसेमै काभ्रेको अति ब्यस्त बजार बनेपाको चारदोबाटोमा अंशिक रुपमा गाडी चलेता पनि सुनसान जस्तै थियो । बनेपालाई राजधानी काठमाण्डौबाट पूर्वी जिल्लाको ब्यापारीक केन्द्रको रुपमा चिनिन्छ । त्यही बनेपाको मुख्य बजार क्षेत्र चारदोबाटोमा नेकपा प्रचण्ड(माधव पक्षका नेता तथा कार्यकर्ता र तैनाथ गरिएको प्रहरी भिड । नजिकैको सडक पेटीमा एक हातमा साबेल बोक्दै माघ महिनाको सिरठो जाडोमा सुक्क सुक्क गर्दै मजदुरी गरिरहेको भेटिए स्थायी घर धनकुटा नगरपालिका-३ बताउने प्रेम मगर । उनी अर्का साथी उदयपुरका अमित राइलाई ढोकोमा गिट्टी भरेर सहयोग गर्दै थिए ।

आन्दोलनका समयमा त्यो दृश्य केही फरक लाग्यो । अनि उनी नजिक पुगेर सोधेँ:

तपाईंको नाम के हो ?
जवाफमा उनले भने प्रेम मगर ।
घर कहाँ हो नि ?
जवाफः धनकुटा नगरपालिका–३ । गाउँ बजारबाट नजिकै पर्छ ।
आन्दोलनकारी या प्रहरीले काममा बाधा त पुर्‍याएन नि ?
जवाफः छैन । आन्दोलनकारी मध्येको एक जना दाइले चाहिँ बरु एक छिन गिट्टी भरेर सहयोग पनि गरे । कोहि त सहयोगी पनि हुदोरहेछ ।
कसले बन्द गरेको थाहा छ ?
जवाफः खै, प्रचण्ड–माधवको मान्छेले गरेको बन्छन् ।

उनलाई सडकमा आन्दोलनकारी या प्रहरी कसले के गरिरहेको छ, के भनिरहेको छ त्यता कुनै वास्तरध्यान थिएन । बन्दको कुनै प्रबाह छैन । छ त केवल आफ्नो काम सकाउने । उनीजस्तै ओखलढुंगाका प्रकाश राई र उदयपुरका अमित राईलाई पनि बन्दको कुनै प्रवाह थिएन । उनीहरु त्यही अरनिको राजमार्ग अन्तर्गत बनेपामा आन्दोलनकारी र प्रहरीको रक्सारक्सी चलिरहँदा समेत आफ्नै काममा व्यस्त देखिन्थे ।

फेरि सोधेँ, बन्दले काममा केही असर पर्‍यौ होला नि ?
जवाफमा ‘नेता तथा कार्यकर्ताले सत्ताको मोह र ब्यक्तीगत स्वार्थले सडक ताउछन हामी जस्ता गरिब मजदुरलाई भोगले सताउछन,’ धनकुटाका प्रेम मगरले भने, ‘बन्दले खाना दिदैन एक दिन काम नगरे मुखमा माड पर्दैन के गर्नु, बिहान बेलुकाको छाक टार्न धौॅं धौ छ । काम त गर्नै पर्‍यौ नि ।’

अर्का मजदुर ओखलढुंगाका प्रकाश राईले आन्दोलनकारीले काम बाधा नपुर्‍याए पनि मनमा भने केही गर्छ कि भन्ने डर चाहिँ भएको बताए ।

त्यस्तै, बनेपा नगरपालिका ५ स्थित एक घरको ढलान गर्दै गरेका मजदुरहरुले पनि दैनिक छाक टर्न र बालबाच्चको लागि भए पनि बन्दको पर्वाह नगरी काममा निस्केको जनाए । उनीहरुमध्ये एक काभ्रेको खानीखोला–३ का कुमारी लामाले भने ‘बन्दको हल्लाले गर्दा काम गर्न आउने कि नआउने भन्ने दुविधामा परेको थियो । तर पछि साथीहरू पनि आउने भनेपछि म पनि आएको हो ।’

सम्बन्धित खबरहरु