‘… त्यसपछि सिडिओको कठालो समाएँ’

काठमाडौँ/ बारबर्दिया–९ बैदीचोक, दिन घमाइलो भएकाले चोकभरि मानिस जम्मा भएका थिए । चियाको चुस्कीसँगै घाम तापेर गफिँदै थिए सबैजना । उनीहरू पछिल्लो राजनीतिक घटनाबारे आफ्ना भनाइ राख्दै थिए । तर, त्यही चोकमा ठेलामा फलफूल पसल थापेर बसिरहेकी ६० वर्षीया सुन्दरी बादीलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै चासो छैन ।

हिजोको राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र आजको गणतन्त्रले सुन्दरी बादीको मुहारमा कुनै खुसी थप्न सकेन । बादी महिला आन्दोलनकी एक अगुवा भएकै नाताले पनि उनी अहिलेको व्यवस्थासँग सन्तुष्ट छैनन् । कारण जुनसुकै व्यवस्था आए पनि बादी समुदायका समस्याको समाधान भएन । राज्यले आफ्नै नागरिकसरह पनि व्यवहार गरेन, अझै पनि बादी महिला आन्दोलनको मर्मअनुसार सरकारले माग पूरा गरेन । फलफूलको ठेलामा ग्राहकको प्रतीक्षामा बसेकी सुन्दरी बादी भन्छिन्, ‘हामीले गाँस, वास, कपास सँगसँगै शिक्षा, स्वास्थ्य, रोजगारलगायत माग राखेर आन्दोलन गरेका थियौँ । तर, अहिले बादी चेलीबेटीका छोराछोरीले जन्मदर्ता नपाएर पढ्न पाएका छैनन् ।’

यो पनि पढ्नुहोस्

किशोरीलाई परीक्षा लिन भन्दै शिक्षकले होटलमा लागेपछि …

०६० सालदेखि बादी महिलाहरूले स्वस्फूर्त रूपमा आफ्नो हक–अधिकारका लागि आवाज उठाउन थालेका थिए । गाउँटोल, जिल्ला हुँदै राजधानीसम्म आवाज उठाउँदै आन्दोलनमा उत्रिएका बादी महिलाहरूको मुख्य माग थियो, बाध्यात्मक यौनपेसाको विकल्प देऊ, अब हामी बाध्यात्मक यौनपेसा अस्वीकार गर्छौं । अर्को माग थियो, बाध्यात्मक यौनपेसामा संलग्न महिलाबाट जन्मिएका बच्चा, जसको बुबाको ठेगान छैन, उनीहरूलाई आमाको नामबाट जन्मदर्ता र नागरिकता बनाउन पाउनुपर्ने । जिल्लामा आन्दोलन सुरु भएको चार वर्षपछि सिंहदरबार गेटअगाडि आन्दोलन भयो । ४८ दिन आन्दोलन भएर सम्झौता भएको १३ वर्ष बिते पनि उनीहरूका माग अझै पूरा भएका छैनन् ।

सरकारले सुन्दरी बादीहरूसँग गरेको सम्झौता बिर्सिसकेको छ । सुन्दरी बादीलाई हिजोजस्तै लाग्छ, भोकै–प्यासै सिंहदरबारको ढोकासम्म पुगेको । तर, प्रहरीले लौरो हान्दा उनका पाखुरामा लागेको चोटको दाग अझै पनि मेटिएको छैन । खुट्टामा लागेको चोटले अझै पनि हिँड्डुल गर्न मिल्दैन । उनी भन्छिन्, ‘आफ्नो आत्मसम्मानका लागि हामीले ४८ दिनसम्म आन्दोलन गरेका थियौँ । तर, खै के पायौँ रु उही घृणा, उही लाञ्छना र विभेद ।’

सुन्दरी बर्दिया जिल्लाबाट नेतृत्व गरेर आन्दोलनमा होमिएकी थिइन् । बादी आन्दोलनको सुरुवातसँगै तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले उनका श्रीमान् यमबहादुर बादी ९५०० लाई लगेर बेपत्ता पारेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म आन्दोलनको तयारीका क्रममा धनगढी गएकी थिएँ । त्यहाँ संघर्ष समितिको बैठक थियो । त्यही वेलामा श्रीमान्लाई लगेर बेपत्ता पारियो । धेरै खोजी गरे पनि उहाँलाई फेला पार्न सकिएन ।’

गाउँमा बस्न नसक्ने अवस्था भएपछि सुन्दरी बादी सदरमुकाम विस्थापित भइन् । सदरमुकामबाटै बादी महिला आन्दोलनमा होमिइन् । ‘केही समय सदरमुकाममै कष्टकर जीवन भोगेपछि जेठाजुले फेरि गाउँमै सबै परिवारलाई लगेर राख्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि बादी महिला आन्दोलनमा चरणबद्ध रूपमा लागेँ ।’
उनीहरूले केही समय बर्दिया जिल्लामै आन्दोलन गरे । तर, कुनै सुनुवाइ भएन । त्यसपछि उनीहरू काठमाडौं पुगे । सिंहदरबारअगाडि धर्ना दिन थाले । उनी भन्छिन्, ‘हामीले दाल–चामल आफूसँगै लगेका थियौँ । लोग्ने मानिसहरूले खाना पकाएर खुवाउँथे । हामी पालैपालो आन्दोलनमा जान्थ्यौँ । मादल, थाल, ठटाएर सडक जाम गथ्र्यौं । अन्तिममा सिंहदरबार अघि नै पुग्यौँ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंको घटना सम्झिँदै उनी भन्छिन्, ‘जिल्ला प्रशासन कार्यालयअगाडि आन्दोलन गर्दा हाम्रो कुरा सुन्छ कि भन्ने लाग्यो । तर, त्यहाँ हाम्रो आन्दोलनलाई बेवास्ता गरियो । हरेक दिन सिडिओ र अरू कर्मचारी आउँथे, हेर्थे अनि जान्थे । हामी एकदमै रिसाएका थियौँ ।’ सिडिओलाई घेरेको प्रसंग उनले सुनाइन् । ‘जिल्ला प्रशासन कार्यालय अघि धर्ना बसेको २० दिन भएको थियो । ठीक १० बजे गाडीमा सिडिओ साप कार्यालय आउँदै हुनुहुन्थ्यो ।

हामीले उहाँलाई रोक्यौँ र हाम्रो माग कहिले पूरा हुन्छ भनेर सोध्यौँ, सुन्दरी भन्छिन्, ‘उहाँ ठाडो जवाफ फर्काउँदै तपाईंहरूको माग पूरा हुन्छ हुन्छ भनेर भित्र जान खोज्नुभयो । हामी एकै स्वरमा कहिले पूरा हुन्छ रु भनेर करायौँ । तर, उहाँले जवाफ दिनुभएन । मलाई त्यतिवेला धेरै रिस उठेको थियो । अरू साथीहरू कराउँदै थिए । मैले सिडिओको कठालो समातेँ । हाम्रो माग कहिले पूरा हुन्छ भनेर सोधेँ । सिडिओ साप केही बोल्न सक्नुभएन । पछि साथीहरूले मलाई ताने । साथीहरूले नतानेको भए अझै के–के हुन्थ्यो रु’

त्यसपछि आन्दोलन सिंहदरबारतर्फ मोडियो । उनी भन्छिन्, ‘माग पूरा नहुने भएपछि हामी अर्धनग्न रूपमा सिंहदरबारअगाडि बसेर आन्दोलन सुरु गर्‍यौँ । सुरुमा आन्दोलन शान्तिपूर्ण भए पनि पछि उग्ररूप लियो । प्रहरीले गाडी रोकेको र सिंहदरबार गेटमा अवरोध गरेको निहुँमा हामीमाथि लाठीचार्ज गर्‍यो । अनि केहीसिप नलागेर हामीले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका हौँ ।’

उनी त्यसवेलाको योजना सुनाउँछिन्, ‘सिंहदरबारको गेटमा अर्धनग्न भएर चढ्ने सल्लाह भयो । साथीहरू जबर्जस्ती गेटमाथि चढे । म अलि होची भएकाले चढ्न सकिनँ ।’ उनी बेस्सरी ढोका धकेलेर गेटभित्र छिरिन् । प्रहरीले उनीमाथि लाठी बर्सायो । उनका साथीहरूले बाहिर ताने । पाखुरामा भएको खत देखाउँदै भन्छिन्, ‘यहाँ ६ टाँका लागेको थियो । अझै पनि दुख्छ ।’

त्यत्रो आन्दोलन गरे पनि अझै अवस्था जस्ताको त्यस्तै भएको सुन्दरी बताउँछिन् । उनले अझै पनि वादी महिलाहरू बाध्यतावश यौनपेसामा संलग्न हुनुपरेको बताउँछिन् । नेपालमा मात्र नभएर भारतमा समेत बादी महिलाहरूले आफ्नो शरीर बेचेर जीविका चलाइरहेको उनी भन्छिन् । सरकारले कुनै पनि माग पूरा नगरेको र बादी समुदाय भूमिहीन रहेको उनको भनाइ छ । समाजले हेर्ने दृष्टिकोण परिवर्तन नभएकाले ज्याला मजदुरी गरेर खानसमेत समस्या भएको उनी बताउँछिन् ।

अझै पनि बाध्यात्मक यौनपेसामा संलग्न महिलाबाट जन्मेका बच्चाले जन्मदर्ता नपाउँदा विद्यालय पढ्न नपाएको बताउँदै बादी समुदायले फेरि पनि अर्को आन्दोलन गर्नुपर्ने उनको ठम्याइ छ । भन्छिन्, ‘हाम्रो माग पूरा भएन । अब हामीले फेरि आन्दोलन गर्नुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबरहरु