तेमालमा माघ २५ गतेदेखि दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

तेमाल, काभ्रे/ जिल्लाको तेमाल गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तर वडाव्यापी फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघ २५, २६ र २७ गते प्रतियोगिता हुन लागेको हो ।

तेमाल खेलकुद विकास समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता कार्यक्रममा तेमाल गाउँपालिका भित्र रहेका स्थानीय फुटवल टिमका खेलाडीहरुलाई समावेश गराउने उपाध्यक्ष तामाङले बताइन् । ‘स्थानीय खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनको मुल्यांकन, दक्ष र अनुभव बटुल्ने गरी खेलाडीहरुको मानसिक, शारीरिक अन्तुरुस्तीका साथ उच्च मनोबल राख्नका निम्ति कार्यक्रम सञ्चालन गर्न लागेका हौं ।’ उनले भनिन्, ‘हामीले गत वर्षभन्दा व्यवस्थित र मर्यादित बनाउन लागेका छौं ।’

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई पुरस्कार क्रमशः २ लाख, १ लाख ५० हजार, १ लाख, र ५० हजार रहेका छन् । त्यस्तै वेस्ट किपर, बढी गोल गर्ने खेलाडी र उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैँया दिइने जनाएको छ ।

खेल तेमाल गाउँपालिकाको प्रस्तावित रंगशाला, तेमाल–७, चापाखोरीमा हुने उपाध्यक्ष तामाङले जानकारी दिइन् । सम्बन्धित वडाको सिफारिस सहित प्रति वडा एक समूह गठन गरी टिम दर्ता गर्न समितिले सूचना समेत जारी गरिसकेको छ ।

सम्बन्धित खबरहरु