आहाना नेपालको समन्वयमा केन्द्रज्योतिलाई भुकम्प प्रतिरोधी स्मार्ट भवन (७ तस्विरसहित)

जिम्बा दाजुभाईको सकृयतामा भवन, दुई शिक्षिकाको भरमा विद्यार्थी

खानीखोला, काभ्रे/ जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ स्थित् कोरियन प्रविधिबाट निर्मित भुकम्प प्रतिरोधी स्मार्ट विद्यालय भवन हस्तान्तरण भएको छ । आहाना नेपाल फाउण्डेशनको समन्वय, फ्रान्सेली संस्थाको आर्थिक सहयोगसँगै समाजसेवी अविरल जिम्बा र सागर जिम्बाको पहलराष्ट्रिय खेलकुद परिषद् (राखेप)का पुर्व कोषाध्यक्ष तथा युवा नेता इन्द्र बहादुर थिङ ‘छिन्ताङ’को प्रमुख आतिथ्यतामा एक कार्यक्राबिच हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा छिन्ताङले डाडाँपारिको विकाससँगै बालबालिकाको शिक्षामा आमूल परिवर्तनको निम्ती जस्तो सुकै परिस्थितिमा पनि लगिरहने बताए । उनले दुर्गम क्षेत्र डाँडापारिका बालवालिकाको भबिष्यको लागि ४ कोठे कोरियन प्रविधिको भूकम्प प्रतिरोधी स्मार्ट भवन बनाउन सहयोग गर्ने संस्था तथा व्यत्तिलाई धन्यवादसमेत दिए ।

कार्यक्रम सहयोगी संस्थाका मुख्य ब्यक्तिहरु भिम गोले, चन्द्रकला राई, टेक बहादुर वाइबा, कृष्ण लामा, कमला तामाङ लगायतको विशेष उपस्थिति तथा सभापति विध्यालय व्यबस्थापन समिती अध्यक्ष निरामाया थिङ बलको सभापतित्वमा सम्पन्न भएको थियो ।

जिम्बा दाजुभाईको सकृयतामा भवन
वि.स. २०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले घर र विद्यालयको भवन मात्रै भत्काएनन् आम मानिसकोे मन पनि बेजोडले भत्काइदिए । सोही रुपमा भत्किए घर नजिकै रहेको विद्यालय भवन आँखै आगाडि कुरुप भाग्नशेष परिणत हुँदा जिम्बा दाजुभाइ (अविरल जिम्बा र सागर जिम्बा) को पनि मन । भत्केको मनले मानेन त्यसलाई कुरुप अवस्थामै छाड्न ।

त्यसपछि गाउँको विकासका लागि केही गर्नुपर्छ भन्ने अनेकौ योजना बुन्न थाले युवा समाजसेवी अबिरल जिम्बाले मनभित्र । उनले सपना बुन्दबुन्दै गर्दा आफ्नो योजना दाजु सगर जिम्बालाई सुनाए । र दाजु सगरले पनि भाइको सपना तथा योजना सफल पार्न दह्रो साथ दिए । अनि विद्यालय भवन बनाउने योजना दाजुभाइबीच सल्लाहबाटै सुरु भयो । त्यतिबेला सागरले कोरियाको एक दशक लामो बसाईलाई बिट मारेर स्वदेश फर्किएसँगै काठमाडौँ उपत्यकामा ‘छार नेपाल कन्ट्रक्सन’ (एसवाई प्यानल) नामक संस्था खोलेर व्यवसायसमेत सुरु गरिसकेका थिए ।

अन्ततः दुई दाजुभाईको पहलमा कोरियामा देखेको कोरियन प्रविधिको भूकम्प प्रतिरोधी स्मार्ट विद्यालय भवन आफ्नै गाउँमा निर्माण गर्न सफल भए । जिम्बा दाजुभाईको योजना तथा सपना गत महिनाको २९ पुसमा विद्यालय भवन हस्तान्तरण गरेसँगै साकार भएको हो ।

दाजुभाईले यसरी साटे खुशी
विद्यालय भनव हस्तान्तरण कार्यक्रममा खुशी मुद्रामा देखिएका अबिरल जिम्बाले खुशी साट्दै भने, ‘भुकम्पको त्यो समयमा भत्केको भवन देख्दा दुखेको मन, भारी लागेको आफ्नै शरिर अहिले यो भवन हस्तान्तरण गर्दै गर्दा एकाएक खुशीमा परिणत भएको छ । त्यतिबेलाको कहालीलाग्दो क्षण बिर्सेको छु ।’ उनले थपे, ‘आगामी दिनमा सामाजिक कार्यमा अझ बढी सक्रिय भएर लाग्ने छु ।’

अविरल जिम्बाले आफ्नो पहलकदमीमा यसअघि पनि मोतिविन्दु, भुकम्प पीडित लगायतलाई नगद तथा खाद्यन्य सहयोग गर्दै आएका छन् ।

त्यस्तै, अर्का पहलकर्ता सगर जिम्बाले भूकम्पको बेला फाटिएका मन र पानी परेको बेला बालाबालिकाले ओत लाग्ने ठाउँ नपाउँद दुखेको मन भवन हस्तान्तरणसँगै खुशीमा रमाएको बताए । ‘हामीले देखेको सपना र बालेको कुरा पुरा गर्न सफल भएको छ, यस अर्थमा धेरै खुशी छु’ उनले भने, ‘यदि समाजमा विकास नै गर्ने हो भने राज्यको मात्र भर पर्नु पर्दैन भन्ने यो एउटा सन्देश पनि हो ।’

स्टेशनरी सामन तथा जाडोका कपडा वितरण
सोही अवसरमा जिम्बा दाजुभाइले विद्यार्थीहरुलाई स्टेशनरी सामन तथा अति विपन्न २ जना विद्यार्थीलाई जाडोको कपडासमेत वितरण गरेका छन् ।

उनीहरु (अविरल र सगर)ले एक साताअघि मात्र खानीखोला–३ सौरे स्थित् भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला, ट्र्याक सुटसँगै कापी कलम जस्ता शैक्षिक सामाग्रीसमेत वितरण गरेका थिए । सामाजिक कार्यमा सकृय रुपमा लागिरहेका जिम्बा दुई दाजुभाईले निकट भविष्यमा पनि केही शैक्षिक संस्थामा सहयोग गर्ने गरी काम गरिरहेको बताएका छन् ।

२ शिक्षिकाको भरमा ६० विद्यार्थी
जिल्लाको दुर्गम गाउँपालिकामध्ये एक खानीखोला गाउँपालिका वडा नम्बर ३ चत्रेस्थित् केन्द्र ज्योती प्राथामिक विद्यालयमा अहिले कक्षा १ देखि कक्षा ५ सम्म करिब ६० जना विद्यार्थी अध्ययनरत छन् ।

ती ६० जना विद्यार्थीको भविष्य निर्माण गर्ने जिम्म २ जना शिक्षिकाको भरमा छन् । ती विद्यार्थीहरुको जिम्मेवारी प्रधानाध्यापक सनिता दर्लामी र शिक्षिका सञ्च माया वाइबाको भरमा रहेका हुन् ।

विद्यालयको काम विशेषले सदरमुकाम वा गाउँपालिकातिर जानुपर्दा एक्लै पढाउनु पर्ने बाध्यता रहेको प्रअ दर्लामी बताउँछिन् । ‘दुर्गमका विद्यालयलाई राज्यले पनि हेपेको छ,’ उनले दुखेसो पोख्दै भनिन् ‘एक जनाको दरबन्दीमा कसरी शैक्षिक गुणस्तरलाई अगाडी बढाउने ? ‘केही नहुनुभन्दा कानो मामा नै बेस’ भने जस्तै बाध्यता पुर्ण अवस्थामा विद्यालय सञ्चालन गरिरहेको छ ।’

सम्बन्धित खबरहरु