आगो बालेर स्कुलमा पठनपाठन

मुगु/ विद्यार्थीलाई पढाउनुअघि मंगलबार बिहान मुगुको छायानाथ–रारा नगरपालिका– २ तलितुम गाउँस्थित छायाक्षेत्र आधारभूत विद्यालयका प्रधानाध्यापक मीनबहादुर बुढाले आगो बाले । सबै विद्यार्थीलाई आगोवरिपरि बसालेपछि मात्रै पढाउन सुरु गरे ।

मंगलबार मात्रै होइन, केही दिनयता प्रधानाध्यापक बुढा पठनपाठन गर्नुअघि विद्यालयमा आगो बाल्ने गरिरहेका छन् । विद्यालय सुरु हुनअघि नै उनले आगो बाल्ने तयारी गर्दै आएका छन् । ‘हिउँ परेपछि अत्यधिक चिसो बढेको छ, विद्यार्थीलाई जोगाउन पनि आगो बाल्नु परिरहेको छ,’ प्रधानाध्यापक बुढाले भने, ‘आगो नबाले त हात लकडिन्छन् । विद्यार्थीले पुस्तक समात्नै सक्दैनन् ।’

हिमपातसँगै चिसो सिरेटो चल्न थालेपछि मंगलबार मुगुको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेन्टिग्रेडमा झ¥यो । सोमबार पनि यहाँको न्यूनतम तापक्रम माइनसमै थियो । केही दिनयता तापक्रम माइनसमा झरेसँगै चिसो अत्यधिक बढेको प्रधानाध्यापक बुढाले बताए । ‘चिसोले विद्यार्थी काम्न थालेपछि विद्यालयमै आगो बाल्न सुरु गरेको हुँ,’ उनले भने ।

कक्षा पाँचसम्म पढाइ हुने छायाक्षेत्र आधारभूत विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । तीनजना मात्रै शिक्षक भएकाले दुई–तीन कक्षाका विद्यार्थीलाई सँगसँगै राखेर पठनपाठन गरिँदै आएको छ । मंगलबार कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै गर्दा उनले पनि पटकपटक आगोमा हात सेकेको बताए ।

छायानाथ–रारा नगरपालिका– ३ निगाले गाउँस्थित हिमालय आधारभूत विद्यालयमा पनि मंगलबार आगो बलिरहेको थियो । कक्षा ३ र ४ का विद्यार्थी आगो ताप्दै पुस्तक पल्टाइरहेका थिए । यहाँ पनि शिक्षकले आगो ताप्दै विद्यार्थीलाई पठनपाठन गर्दै आएका छन् ।

हिमाली जिल्ला मुगुमा विगतका वर्षहरूमा हिउँदका दिनमा हिउँ र पानी पर्न थालेपछि विद्यालय बन्द गरिन्थ्यो । यसपटक भने कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि विद्यालय बन्द थिए । सहरी तथा सुगम क्षेत्रका विद्यालयमा भर्चुअल माध्यमबाट पठनपाठन भएको थियो । तर, टेलिफोनमा कुराकानी गर्नसमेत समस्या हुने मुगुमा वैकल्पिक विधिबाट पठनपाठन हुन सकेन ।

नौ महिना विद्यालय बन्द रहेका कारण जसरी पनि पठनपाठन गर्नुपर्ने अवस्था आएको छायाक्षेत्र आधारभूत विद्यालयका प्रधानाध्यापक बुढाले बताए । ‘लामो समय विद्यालय बन्द रहेकाले पठनपाठन हुन सकेको थिएन । शैक्षिक सत्र सकिन लागेकाले जसरी पनि पढाइ गर्नुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक बुढाले भने, ‘सकभर विद्यालय बन्द नगर्ने पक्षमा छौँ । चिसो भए पनि आगो बालेरै पठनपाठन नियमित गरिरहेका छौँ ।’

जिल्लाका अन्य विद्यालयमा पनि यस्तै अवस्था छ । कतै कक्षाकोठामा त कतै कक्षाबाहिर आगो बाल्ने गरिएको छ । तापक्रम माइनसमा झरेकाले घाम देखिए पनि जिउ तात्ने गरेको छैन । चिसोले गर्दा प्रायः सबै विद्यालयमा विद्यार्थी पनि कम उपस्थित हुने गरेका छन् । नजिकका विद्यार्थी आउने गरेको भए पनि टाढाका आउन छोडेको प्रधानाध्यापक बुढाले बताए ।

आइतबारदेखि मुगुलगायत कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । मंगलबार पनि हिमपात भएको छ । उच्च भेगमा हिउँ जमेर बाटोघाटो पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । उच्च भागमा हिउँ परेकाले बेसीतिर पनि चिसो सिरेटो चल्ने गरेको छ । जसले तापक्रम माइनसमा झर्न थालेको हो ।

चिसोले यहाँको जनजीवन पनि प्रभावित भएको छ । स्थानीय बासिन्दा पनि बिहान र साँझ आगो ताप्ने गरिरहेका छन् । आफूहरू घरभित्रै बसे पनि बस्तुभाउलाई चरन र मेलापात गर्न समस्या भएको स्थानीय रामकुसुम कार्कीले बताइन् । ‘तीन दिनदेखि मेलापात गर्न गाह्रो भएको छ,’ उनले भनिन् ।

मुगु सदरमुकाम गमगढीलगायत बजार क्षेत्रमा पनि दिउँसै आगो बाल्न थालिएको छ । चिसोले सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यालयमा पनि सेवाग्राही आउने गरेका छैनन् । – नयाँ पत्रिका

सम्बन्धित खबरहरु