हेर्नुस् २०२० का चर्चित राजनीतिक घटना

सन् २०२० मा विश्व कोरोना भाइरस (कोभिड १९) महामारीले आक्रान्त बन्यो । अहिले पनि महामारी कायमै छ । झन् नयाँ स्वरूपको कोरोनाले अहिले सनसनी मच्चाएको छ । वर्षभरि नै कोरोना प्रमुख समाचार बन्यो । दिनदिनै संक्रमित संख्या, मृत्यु भएका समाचार अन्तर्राष्ट्रिय मिडियाहरूले प्रसारित गर्दै आएका छन् । यसबीचमा पनि २०२० मा केही राजनीति घटना महत्वपूर्ण रहे ।

१, अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता
१८ वर्षसम्म तालिवान विद्रोही र अमेरिकाबीच युद्ध चल्यो । तर, अमेरिकाले यसै वर्ष तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए । सैनिक राख्दा आर्थिक भार बढेको ट्रम्पको भनाइ थियो ।

चार वर्षअघिको वाचाअनुसार नै उनले सेना फिर्ता बोलाए । झन्डै दुई दशक लामो युद्धमा एक लाख ५७ हजार मानिसले ज्यान गुमाए । यो युद्धमा २५ लाख अफगानिस्तानले शरणार्थी जीवन बिताउनुपरेको अधिकारकर्मीहरूले बताएका छन् ।

यो पनि पढ्नुुस्

परीक्षा अव्यवस्थित हुँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, पूर्णांकभन्दा बढी नम्बर

युद्धमा अमेरिकाका २४ सय सैनिकले ज्यान गुमाए । नेटोका ११ सय सैनिक युद्धका क्रममा मारिए । अमेरिकी तथ्यांकअनुसार तालिवानसँगको युद्धमा अमेरिकाले दुई अर्ब डलरभन्दा बढी खर्च गरेको छ । यो वर्षको ठूलो सफलताका रूपमा अमेरिका र तालिबानबीचको सम्झौता पनि एक मान्न सकिन्छ ।

२, इजरायलसँगको सम्बन्ध
पेट्रोल र ग्यासको धनी अरेबियन राष्ट्रहरूबीच त्यति राम्रो सम्बन्ध छैन । यो वर्षको अगस्ट र सेप्टेम्बरमा तीन राष्ट्रहरूले एक आपसमा ऐतिहासिक सम्झौता गरे । संयुक्त अरब इमरेट्स ९युएई० र बहराइनले इजरायलसँग सम्बन्ध सुधार गरेका छन् । २५ वर्षपछि युएई र बहराइनले इजरायलसँग सम्बन्ध गासेको हुन् । इजरायल र मध्यपूर्व एसियाबीचको सम्बन्ध सुधारमा अमेरिका र युरोपियन राष्ट्रले समर्थन गरेका छन् । अन्तर्राष्ट्रिय विश्लेषक रियान बोहलले युएईले इजरायल र बहराइनको साथ लिएर इरानविरुद्ध मोर्चा बनाएको बताएका छन् ।

३, युरोपमा कोरोनाविरुद्ध कोष
सुरुमा कोरोना भाइरसलाई सामान्य लिएकाले युरोपमा विकराल रूप लियो । कोरोनाविरुद्धको लडाइँमा सबै युरोपियन राष्ट्र एक हुने प्रतिबद्धता जनाए । जुलाई २०२० मा चार दिनसम्म चलेको युरोपियन युनियनको बैठकमा कोरोनाविरुद्ध लड्न कोष खडा भयो । कोरोना कोषमा आठ लाख ६० हजार डलर जम्मा पारिने भनिएको थियो । कोषमा अनिवार्य रूपमा सबै सदस्यहरूले रकम जम्मा गर्नुपर्ने सहमति भएको थियो ।

४, आरसिइपी व्यापार सम्झौता
१५ नोभेम्बर २०२० मा एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रले व्यापारिक सम्झौता गरेका थिए । यसलाई इकोनोमिक पार्टनर्सिप भनी आरसिइपी नाम दिइएको छ  । सम्झौता गरेका राष्ट्रको जनसंख्या हेर्ने हो भने विश्वकै एकतिहाइ यहीँ छ । सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि छन्  । युरोप, अमेरिका तथा मेक्सिको बीचको सम्झौताभन्दा आरसिइपी अगाडि मानिएको छ । आरसिइपीको धारणा चीनले ल्याएको थियो ।

५, इयूबाट बाहिर बेलायत
३१ जनवरी २०२० को दिनलाई बेलायतीले आफूहरू युरोपियन युनियन (इयू)बाट बाहिरिएको रूपमा सम्झनेछन् । हुन त २०१६ मै बेलायत इयूबाट बाहिरिने कि रहिरहने भन्ने जनमतसंग्रह भएको थियो । सोही जनमतसंग्रहलाई मान्यता दिन बेलायत सरकारले ब्रेक्जिटलाई मान्यता दियो । तर, सरकारले निर्णय गर्न ११ महिना लगायो ।

६, अमेरिकी निर्वाचन
२०२० को सबैभन्दा ठूलो राजनीतिक घटनाको रूपमा ४६औँ अमेरिकन राष्ट्रपतीय निर्वाचन हो । गत नोभेम्बरमा डेमोक्रेटिक जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनअघिको एजिक्ट पोलमा यी दुईबीच प्रतिस्पर्धा निकै चल्यो । राष्ट्रपति निर्वाचनमा बाइडेनले सबैलाई आश्चर्यमा पार्दै ट्रम्पलाई इलेक्टोरल भोटिङमा हराए । यो दुई दशकको इतिहासमा लगातार दोस्रोपटक राष्ट्रपति बन्ने इतिहास ट्रम्पले बनाउन सकेनन् ।
एजेन्सीहरूको सहयोगमा

सम्बन्धित खबरहरु