मेसी र सलाहलाई पछि पार्दै रोनाल्डो बने ‘शताब्दी खेलाडी’

एजेन्सी/ इटलीयन सिरी क्लब युभेन्टसका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्डको ‘प्लेयर अफ दि सेन्चुरी’ अर्थात् ‘शताब्दी खेलाडी’ को अवार्ड जितेका छन् ।

अर्जेन्टिनी स्टार लियोनेल मेसी, ब्राजिलका स्टार रोनाल्डिन्हो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै रोनाल्डोले यो अवार्ड जितेका हुन् । अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।

दुबईमा गएराति भएको समारोहमा यो अवार्ड वितरण गरिएको हो । आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो । ३५ वर्षीय रोनाल्डोले यो अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन् ।

रोनाल्डोले पोर्चुगलबाट सन् २०१६ मा युरोकप, २०१८ मा युइएफए नेसन्स लिग जितेका थिए । ५ पटकको बालोन डि ओर विजेता रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड र इटालीको युभेन्ट्सबाट थुप्रै उपाधि जितेका छन् ।

यस्तै इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कोच अफ दि सेन्चुरी घोषित भएका छन्। उनले स्पेन, जर्मनी र इंग्ल्यान्डमा आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए । जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई वर्ष पुरुष खेलाडी र प्रशिक्षक हान्सी फ्लिकलाई वर्ष प्रशिक्षक घोषणा गरिएको छ ।

स्पेनिस क्लब रियल म्यड्रिडलाई क्लब अफ दि सेन्चुरी घोषणा गरिएको छ ।

सम्बन्धित खबरहरु