महाभारतमा गाई काटेको आरोपमा ६ जना पक्राउ

महाभारत, काभ्रे/ गाई काटेको आरोपमा काभ्रेमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाभारत गाउँपालिका–१ स्थित् आरुबोटेका बेल बहादुर योन्जन, सुब्बा जिम्बा, रत्न बहादुर जिम्बा, श्रीलाल जिम्बा ,कान्छारामा जिम्बा र नयाँ जिम्बा रहेको गोकुले इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गोकुले इलाका प्रहरी कार्यालयका इन्चार्ज राजकुमार पट्टेलले पक्राउ गरिएका ६ जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा पठाएको जानकारी दिए । ‘६ जनालाई मासुसहित पक्राउ गरिएको भएपनि मासु गाई नै हो या अन्य कुनै जनावरको हो भन्ने पुष्टि भएको छैन,’ उनले भने, ‘त्यसबारे जाँच गरेर यकिन गर्नको लागि मासु र छाला जिल्लामा पठाएको छ ।’

त्यस्तै, काटिएको भनिएका गाई जिउँदा हुँदा नै काटिएको हो वा मरेपछि काटेको हो भन्ने बारे पनि जाँच हुनेछ । उनीहरुलाई गाई काटेको सुराकीका आधारमा प्रहरीले करीव ३० किलो मासुसहित पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

तर उनीहरुले स्थानीय टीका बहादुर रानाको गाई भीरबाट लडेर केही दिन पश्चात् गाइ मरेपछि साहूकै आग्रहमा काटिएको बन्दै आरोपको खण्डन गरेका छन् । पक्राउ गरिएकामध्ये एकले भने, ‘गाई धनीले नै खाल्डो खनेर पुर्नुभन्दा काटेर मासु लैजानु भनेर बोलाएपछि हामी गएको हो ।’

यसबारे गाई धनी रानासँग बुझ्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न, मार्न नपाइने उल्लेख छ । उक्त कानुन विपरीत काम गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

सम्बन्धित खबरहरु