सदाबहार छैनन्, तिहार गीत

तिहार भन्न साथ शम्भु प्रधानको आजभन्दा करिब २६ वर्षअघि बनेको फिल्म ‘स्वर्ग’मा समावेश तिहार गीत ‘तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आईन् आँगन ….’ नसम्झिने÷नुसन्ने मानिस सायदै मात्रमा होलान् । युट्युबमा खोज्ने हो भने थुप्रै नयाँ तिहार गीतहरु भेटिन्छन् । हुन त म कुनै सर्जक अथवा विज्ञ पनि होइन । र पनि मैले आँखै अघि देखेका घटनाहरुको बारेमा भन्न खोजिरहेको हुँ । गतवर्ष मात्रै रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘टीकामाला, खुमन अधिकारी र देवी घर्तीमगरको स्वरमा रहेको गीत ‘आयो तिहार’ हुँदै दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीत ‘ह्याप्पी तिहार’ लगायतका थुप्रै गीतहरु रिलिज भए ।

त्यस्तै यसवर्ष पनि पशुपति शार्मा र सम्झना लमिछानेको स्वरमा रहेको तिहार’, खुमन अधिकारी र सम्झना भण्डरीको स्वरमा रहेको ‘झिलिमिली तिहार’, पुर्ण कला विसी र वल कुमार श्रेष्ठको ‘देउसी भैलो’, विष्णु खत्री, टिका पुनको ‘लाहुरे बा को आँगनीमा’, राजु परियारको ‘देउसी भैलो’, विशाल कल्तान, जितु लोप्चन, प्रकाश लामा र सुमिना लोले संयुक्त रुपमा स्वर दिएको ‘सप्तरङ्गी भाईटिका’ लगायतका दर्जनौँ गीत बजारमा आएका छन् । तर यी अधिकांश गीतले तिहार पर्वको महत्व, संस्कृति र गम्भीरताभन्दा पनि हल्काफुल्का र बजारिया तत्वलाई विशेष गरेर समातेको देखिन्छ । पछिल्ला केही वर्ष यताका गीतहरुलाई हेर्दा ती गीतहरु मौलिक संस्कृतिभन्दा रमाईलोतिर बढी केन्द्रित भइरहेका छन् । यस्ता गीतले पर्व महत्व दर्शाउनेभन्दा पनि विकृतिलाई भित्र्याउन खोजेको जस्तो देखिन्छ ।

पछिल्लो समय रिलिज भएका तिहार गीतहरु सदाबहारभन्दा पनि मौसमी र क्षणिक छन् । वास्तावमै अहिलेका पर्व गीतहरु टिकाउ र सदाबहार प्रकृतिका छैन् । जुन कुरा गीत संगीतको क्षेत्रमा अनवरत रुपमा लागिरहेका गीतकार तथा कलाकारहरु नै स्वीकार गर्छन् । पर्व विशेष गीतहरु छोटो अवधिकै लागि हुने भएकाले पहिलेको तुलनामा तिहार गीतहरु अहिले घटेको पनि देखिन्छ । झन् यसवर्ष कोरोना भाइरसले पनि धेरै असर गरेको छ । खासमा छिट्टै र छोटो समयमा नै चर्चा कमानउतिर मात्रै सर्जकहरुको ध्यानाकर्षण भएकोले पनि पर्व गीतहरुमा त्यति मिहिनेत नदेखिएका हुन् ।

 

तिहार गीत लेख्ने र गाउने सर्जकहरुले ‘स्वर्ग’ फिल्ममा लोचन भट्टराई र नूतन प्रधानले स्वर दिएको गीत ‘तिहारै आयो…’ र हेमा लटको स्वर र दिनेश अधिकारीको शब्द रहेको ‘निधारमा लगाएर सप्तरङ्गी टिका’ जस्तो केही औँलामा गन्न सकिने गीत जुन जति पुरानो भए नि सुनौँ सुनौ लाग्ने सदाबहार सिर्जनाबाट सिक्न जरुरी छ । यो ‘तिहारै आयो …’ गीत जस्तो सदाबहार गीत २६ वर्षको अन्तरालमा पनि अहिलेसम्म आउन सकेको छैन् । गीतलाई कति आयु दिने भन्नु कुरा सर्जकहरुको हातमा निर्भर हुने हुँदा गीत नै बनाए सकेपछि अलि समयसम्म आयु रहने गीत बनाउन तर्फ सर्जकहरु लाग्नु पर्छ । क्षणिक चर्चा र फाईदाको हिसाबले मात्रै गीत संगीतलाई हेर्नु हुदैन । गतवर्ष बजारमा ल्याएको रामकृष्ण ढकालको स्वरमा रमेश बिजीको गीत ‘टीकामाला’ले भने बाध्यता तथा कारणबस टाढा भएको चेली–माइतीबीचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको थियो । यो सकरात्मक पाटो हो । ‘टिकामाला’ले थोरै भए पनि सदाबहार गीतको लय समातेको छ । न्याय गरेको छ ।

त्यस्तै यसवर्ष तिहारको अवसर पारेर सार्वजनिक गरेका धेरै गीतहरुमध्ये केही तिहार गीतलाई भने सकारात्मक नै मान्न सकिने खालका छन् । केही हदसम्म पुरानो गीतको लय समाउन खोजेका तिहार गीतहरुमा नेपाल सरकारले भीडभाड गरेर देउसी भैलो नखेल्न अनुरोध गरे जस्तै गीतमार्फत् कोरोनाको जोखिमबाट बच्न घर–घरमा मनाउन अनुरोधसहितको सन्देश दिएको देखिन्छ । प्रयाः गीतको शुरुवातमा कोरोनाबाट सजक हुनेबारे सन्देश दिएका छन् । जसलाई अहिलेको विशम परिस्थितिमा राम्रै मान्न सकिन्छ । त्यसैगरी यसवर्ष बजारमा आएका ‘सप्तरङ्गी भाइटिका’ गीतमा दाजु वहिनीको सम्बन्ध, तिहारमासँगै हुन नपाउँदाको पीडा, अनि कोरोना कहरलाई देखाएर परदेशीएका आफन्तको कथालाई उजार गर्न खोजिएको छ । त्यस्तै ‘झिलिमिली तिहार’ गीतले मनोरञ्जनसँगै कोरानाबाट सुरक्षित रहन सजग गराउँदै सदाबहार गीतको लयलाई पछ्याएको देखिन्छ । यसैवर्ष तिहार विशेष गीतको रुपमा बजारमा आएको ‘लाहुरे बा को आँगनीमा’ गीत युट्यूव टे«न्डिङमा परेता पनि गीत आहा ! भन्ने खालको भने छैन । यसबाट के कुरा प्रष्ट हुन्छ भने हाम्रो समाजले कस्तो गीत संगीतलाई रुचाउँछ भन्ने प्रस्ट हुन्छ । हुन त, युट्यूवको टे«न्डिङ एकमा परेको प्रयाः भिडियोहरु सन्देश तथा प्रेरणा मुलकभन्दा पनि कुनै घटनाविशेष र युट्यूबरले राखेको थामनेलको आधारमा हेरेको देखिन्छ । समग्रमा एकाधबाहेक यसवर्ष बजारमा आएका तिहार गीतहरुलाई सन्तोषजनक नै मान्न सकिन्छ ।

पछिल्लो समयमा बजारमा आएको अधिकांश गीतहरु हेर्दा तिहारका गीतहरुमा हुने लय, तिहार के हो ? भन्ने बारेमा पनि कम अध्ययन अनुसन्धान भएको र ज्ञान हुने सर्जकहरु पनि त्यतातिर ध्यान दिन नचाहेको स्पष्ट देखिन्छन् । मलाई कुनै समय पर्व र लोक संस्कृतिका गीतलाई शम्भु राई र बम बहादुर कार्कीजस्ता अग्रजले गरेको राम्रो कामबाट नयाँ पुस्ताले सिक्न नसकेको जस्तो लाग्छ । सबै पुस्तालाई समेट्ने कोसिस गर्नुपर्छ । त्यसमा आधुनिक प्रयोग हुन जरुरी छ । तर मौलिक संस्कृतिलाई भने चटक्कै विर्सनु हुदैन भन्ने हो । अबको दिनमा हरेक स्रष्टाले सदाबहार सिर्जना दिनेतिर पनि सोच्नुपर्छ । आशा गरौँ, अगामी दिनमा सर्जकहरुको ध्यान यसतर्फ आवश्यक जानेछ ।

सम्बन्धित खबरहरु

किन मनाइन्छ तिहारः यस्तो छ, तिहारको महिमा

२० कार्तिक २०७७, बिहीबार ०७:२१

कोरोनाः ठेकेदारलाई फलिफाप, जनतालाई त्रासदी

१८ कार्तिक २०७७, मंगलवार ००:३४

कम्युनिस्ट पार्टीलाई कम्युनिस्टबाटै खतरा

१६ कार्तिक २०७७, आईतवार ०१:५४

नेपालमा पर्यटन र सम्भावना

१५ कार्तिक २०७७, शनिबार १३:५९