यी हुन् टिकटकमा १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति

काठमाडौँ/ अमेरिकी चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति भएकी छिन् । अमेरिकी अखबार द भर्जका अनुसार आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् ।

१६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन् । डिमेलियोले टिकटक भिडिओ बनाउन थालेको धेरै पनि भएको छैन। उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडिओ पोस्ट गरेकी भर्जले जनाएको छ ।

उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् जुन छोटो समयमै भाइरल भयो । यसरी पन्ध्र सेकेन्डको टिकटक भिडिओमा नाचेरै उनले छोटो समयमै दस करोड फलोअर्स कमाएकी हुन् ।

एउटी सामान्य किशोरी एकाध वर्षमा चर्चित टिकटक स्टार मात्र भइनन्, टिकटक बाहिर पनि उनको करिओर राम्रो हुँदै गएको छ । यही वर्ष चार्लीले पहिलो फिल्म डेब्यू गरेकी छिन् । उनको आफ्नै नेल(पोलिस ब्रान्ड पनि छ। साथै उनले ठूला मेकअप तथा फेसन ब्रान्डसँग पनि काम गरिसकेकी छिन् ।

उनले अमेरिकाकी चर्चित गायक जेनिफर लोपेजको म्यूजिक भिडिओमा पनि सँगै काम गरिसकेकी छिन् ।

पछिल्लो वर्ष उनले आफ्ना कामबाट चालीस लाख अमेरिकी डलर कमाएको द भर्जले बताएको छ । चार्लीको परिवारमा उनीसँगै उनकी दिदी र आमाबुबा उत्तिकै चर्चित छन्। चार्लीकी दिदी डिक्सी डिमेलियो गायक हुन् । यी दुई दिदीबहिनीले आफ्नै पोडकास्ट सुरू गरेका छन् ।

चार्लीकी आमाबुबा हेइडी र मार्क डिमेलियोले पनि टिकटक, इन्स्टाग्राम र ट्विटरमा फलोअर्स कमाइरहेका छन्। तर डिमेलियो परिवारको सफलता चार्लीले गर्दा नै भएको मानिने भर्जले जनाएको छ । – एजेन्सी

सम्बन्धित खबरहरु