भारतमा चाडवाडले बढायो संक्रमण, दोस्रो लहरको भय

केही दिनसम्म कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आएपनि अहिले फेरि भारतमा डर बढेको छ । बिहीबार ३ अक्टुुबरदेखि नै सक्रिय संक्रमणको संख्या घटेको थियो । तर बिहीबार ४७ दिनपछि देशमा निको हुनेको संख्यासँगै नयाँ संक्रमितको संख्या पनि बढ्यो । बिहीबार भारतमा ४६ हजार १ सय ८५ जना नयाँ संक्रमित भेटिए । यही दिन ४५ हजार २ सय ४६ जना निको भए, ५ सय ८३ जनाको मृत्यु भयो । नतिजा, सक्रिय संक्रमण ३ सय ४३ ले बढ्यो ।

नवरात्री र दिपावलीजस्ता चाडवाडका कारण बजारमा भिड बढ्दा संक्रमितको संख्या बढेको बताइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिपावलीमा बजारमा मानिसहरुको भिड बढ्यो र उनीहरुले लापरवाही गरेको देखियो । न मानिसहरुले मास्क लगाएका थिए, न सामाजिक दुरीको पालना नै गरे ।

त्यस्तै, जाडो मौसममा कोरोना बढ्नसक्ने चिन्ता यसअघि नै वैज्ञानिकहरुले व्यक्त गरेका थिए । भारतको नीति आयोगले पनि एक रिपोर्टमार्फत जाडोमा कोरोना खतरनाक हुनसक्ने जनाएको थियो । नोभेम्बरयता, भारतमा जाडो सुरु भएको छ र यसै महिना संक्रमितको संख्या पनि बढ्न थालेको छ ।

विज्ञहरुका अनुसार देशमा कोरोनाको दोस्रो लहरको खतरा बढेको छ । यसअघि भारतमा १६ सेप्टेम्बरलाई कोरोनाको पिक मानिएको थियो । यस दिन ९७ हजार ८ सय ६० जना संक्रमित भएका थिए । त्यसपछि भने संक्रमितको संख्या घटेको थियो र १६ नोभेम्बरमा २८ हजार ५ सय ५५ जनामा संक्रमण देखिएको थियो । यद्यपी, १९ नोभेम्बरमा यो संख्या बढेर एकैदिन ४६ हजार १ सय ८५ जना संक्रमित भए । धेरै राज्यमा अवस्था बिग्रिएको छ । नयाँ दिल्लीमा कोरोनाका तेस्रो लहर आइसकेको विज्ञहरु बताउँछन् । दिल्लीका स्वास्थमन्त्री सत्येन्द्र जैनले पनि यहाँ तेस्रो लहर चलिरहेको बताएका छन् ।

कर्फ्यु घोषणा
केन्द्र सरकारले हरियाणा, राजस्थान, गुजरात र मणिपुरमा स्वास्थ विज्ञहरुको टोली पठाएको छ, उनीहरुले त्यहाँको अवस्था निगरानी गर्नेछन् । केन्द्र सरकारले कोरोनालाई नियन्त्रणमा लिनका लागि आवश्यक कदम उठाउन राज्यहरुलाई निर्देशन दिएको छ ।

मध्य प्रदेशमा संक्रमितको संख्या ५ प्रतिशतले बढेको छ र यहाँ राति १० बजेदेखि बिहान ६बजेसम्म कर्फ्युु लगाइएको छ । त्यस्तै, दिल्लीमा मास्क नलगाउने मानिसलाई २ हजार भारु जरिवाना घोषणा गरिएको छ । यहाँ हटस्पट क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । गुुजरातको सबैभन्दा ठूलो शहर अहमदावादमा २० नोभेम्बरदेखि २३ नोभेम्बरसम्मका लागि राती ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्युु लगाइएको छ । हरियाणामा विद्यालय खोल्दा ३ सयभन्दा धेरै बच्चा संक्रमित भएका छन् । यहाँ, ३० नोभेम्बरसम्मका लागि फेरि विद्यालय बन्द गरिएको छ ।

सम्बन्धित खबरहरु