बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा गोली चल्यो, एकको घाइते

बर्दिबास/ महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर बर्दिबास नगरपालिका–१ का सञ्जय न्यौपाने घाइते हुन् । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।

आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीको भनाई छ । प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका–५ का अरुण कुमार साहलाई पक्राउ गरेको छ ।

स्थानीयले बालिका हत्या आरोपितको घर जलाइयो

बर्दिबास नगरपालिका–४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित खबरहरु