चैतदेखि बन्द रहेका खानीखोलाका सबै विद्यालय आइतबारदेखि खुल्ने

खानीखोला, काभ्रे/ कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनसक्ने भन्दै ०७६ चैतदेखि बन्द रहेका खानीखोला गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।

खानीखोला गाउँपालिकाको कार्यपालिकाको बैठकले स्वास्थ्य सुरक्षा तथा सरकारले तोकेका मापदण्डको पालना गर्दै पठनपाठन गर्न गराउन भन्दै मङ्सिरविद्यालय खोल्ने निर्णय गरेका हुन् । गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा पठनपाठन हुने भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम शिक्षक अविभावक विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ, विद्यार्थी लगायत सरोकारवालाहरुको बैठक बसी स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको थियो । ।

खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले गाउँपालिकाले सबै विद्यालयलाई विद्यालय सञ्चालन सम्बन्धि मोडालिटी गाउँपालिकाको शिक्षा शाखामा बुझाउन निर्देशन दिइसकेको डाँडापारि सन्देशलाई बताए ।

त्यस्तै गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेको अनुसार विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन मोडालिटी बनाई स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड अपनाएर पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यवस्तु समायोजन ढाँचा २०७७ बमोजिम कार्ययोजना भने बनाउनु पर्नेछ ।

यसमा बार्षिक कार्ययोजना र सबै शिक्षकहरुले संक्रमणकालिन बार्षिक शैक्षिक योजना तयार गरी विद्यालय सञ्चालन तथा पठनपाठन गराउन पाउने भएका छन् ।

सम्बन्धित खबरहरु