कहीँ नभएको हाडीगाउँको जात्रा गोकुलेमा ! (फोटोफिचर)

– जहाँ कान्छालाललाई गाली, त्यहाँ जनताको ताली
– कार्यक्रममा खुर्सी खोज्न पनि प्रहरी परिचालन
– बमध्वजको चेतावनी, ‘अब कसैकसैलाई महँगो सावित् हुनेछ’

महाभारत, काभ्रे/ नेपालीमा एउटा चर्चित उखान नै छ ‘कही नभएको जात्रा हाडी गाउँमा ।’ संसारमा काँही नमनाउने जात्रा काठमाडौंको हाडीगाउँमा मनाइन्छ । खटको गजुर उल्ट्याइ देबतालाई माथि राख्ने, मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाइ नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो ।

हो, यही उखानसँग मेल खाने एउटा जात्रा भएको छ, गोकुलेमा । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिका वडा नं. १ गोकुलेमा गत २९ कार्तिकमा नेकपा वडा कमिटिले आयोजना गरेको कार्यक्रममा जात्रामा परिणत भएको हो । खासगरी पार्टी केन्द्रदेखि सल्किएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटगत विवाद स्थानीय तहसम्म विस्तार हुँदा कार्यक्रमले जात्राको रुप लिएको हो ।

शुभ दीपावली २०७७ सालको अवसरमा नेकपा वडाकमिटिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय सांसद गंगाबहादुर तामाब ‘बमध्वज’ पुगेका थिए । बमध्वज नेकपा बागमती प्रदेश कमिटिका सचिवालय सदस्य पनि हुन् । प्रमुख अतिथि बमध्वजसँग संविधानसभा सदस्य रामहरि सुवेदी, नेकपाका नेताहरु इन्द्र तामाब, दैवलाल घिसिब, रुप बहादुर योञ्जन, कुलदेव अस्तानी मगर, पूर्ण बहादुर वाईबा, विरेन लामा, राजकुमार कुँवर, वसन्त कुँवर, बबाल सारु मगर लगायत पनि कार्यक्रममा पुगेका थिए । त्यस्तै बाग्मति प्रदेश कानुन बिभाग सदस्य खुबनाथ दुलाल, असली लामा लगायतको उपस्थिति रहेका कार्यक्रममा लाल बहादुर घिसिङले स्वागत मन्तव्य राखेको थियो भने कार्यक्रम सञ्चालन अमृत योञ्जनले गरेका थिए ।

प्रमुख अतिथिसँगै अतिथिहरु कार्यक्रमस्थल पुग्दा झण्डै साढे २ बजेको थियो । उनीहरु पुग्दा कार्यक्रमको कुनै सुरसार समेत थिएन । यतिसम्म कि कार्यक्रमस्थलमा अतिथि बस्ने कुर्सी पनि थिएन । त्यति सहभागी पनि थिएनन् । कार्यक्रमस्थलको अवस्था देखेपछि अतिथिगण पनि निरास देखिए ।

स्थानीय गोकुले माध्यमिक विद्यालयमा आयोजित् कार्यक्रमको लागि विद्यालयले आवश्यक कुर्सी निकाल्न साँचो समेत दिएनन् । विद्यालयले विद्यालय हाताभित्र दलीय कार्यक्रम गर्न नदिने भन्दै पन्छिए । यसपछि आयोजकको केही सीप लागेन । त्यसपछि संघीय सांसद बमध्वज आफैँले कुर्सी खोज्न प्रहरी परिचालन गरे । सम्बोधनको क्रममा बमध्वजले भनेका छन्, ‘म यहाँ आउँदा कुर्सीको लागि मैले पुलिस साथीहरुलाई साथमा लिनुप¥यो, कुर्सी जसरी पनि ल्याउनुस् भनेर मैले भने, किनभने उहाँहरु पनि सरकार युनिटको मान्छे, म पनि सरकारको मान्छे, सरकार टु सरकार मैले काम अह्राउन सकिन्छ, त्यसकारण पुलिसका साथीहरुमार्फत् मैले कुर्सी जम्मा गरे ।’

बमध्वजको चेतावनी, ‘अब कसैकसैलाई महँगो सावित् हुनेछ’
कार्यक्रममा कार्यक्रमको रौनक देखिनुको साटो जात्रा देखिएपछि अचम्मित बनेका सांसद बमध्वजले कार्यक्रममा पुगेपछि अपमान महसुस गरेका छन् । उनले कार्यक्रममा अपमान महसुस गर्दै आफ्नो आपत्ति प्रकट मात्रै गरेका छैनन्, आफूमाथि गरेको व्यवहार कसैकसैलाई महँगो सावित् हुने समेत चेतावनी दिएका छन् ।

विकास निर्माणका साथै अन्य विषयवस्तुहरुलाई समेत मन्तव्यमा समेटिएका सांसद बमध्वजले महाभारत पुग्दा आफूलाई जे व्यवहार भयो, आफूले त्यही चाहेको समेत बताए । ‘कुठाघारात र बाङ्गा टिङ्गा कुरा गर्ने साथीहरुलाई म सोध्न चाहन्छु, डाँडापारि आउँदा मैले भिसा लिनुपर्ने भयो नि ? यो गाउँपालिकामा छिर्दा, जसलाई तपाईहरुले भोट हालेर जिताउनुभएको छ, उसैले अनुमति लिनुपर्ने भएछ नि, होइन ?’ उनले भनेका छ्, ‘त्यसो हो भने यहाँका साथीहरु र सांसदले अर्को गाउँपालिकामा पुग्दा अनुमति लिनुपर्दैन ? यस्तो संस्कार विकास गर्ने हो ?’

उनले भनेका छन्, ‘यहाँ साथीहरुले जुन हर्कत गर्नुभएको छ, त्यो धेरै राम्रो गर्नुभएको छ, मैले जे चाहेको थिए, त्यही गर्नुभएको छ, एक मानेमा म खुसी छु ।’ कार्यक्रमलाई सम्बोधनका क्रममा केही निरास र असन्तुष्ट देखिएका सांसद बमध्वजले आफूले महाभारत जाँदा चाहेको कुरा प्राप्त गरेको बताए । उनले थपे, ‘तर मैले चाहेको कुरा, यो प्राप्त गरेको कुरा कसै–कसैको लागि महँगो सावित् हुनेछ ।’

उनले आफु लामो त्याग, संघर्ष र बलिदानको मैदानबाट खारिएर आएको बताउँदै कमजोर नआँक्न समेत चेतावनी दिएका छन् । त्यस्तै, कार्यक्रममा मन्तव्य राखेका केही नेताले अर्काे पक्षको विरोधसँगै अब महाभारतको विकासमा पनि लाग्नु पर्ने र जनताको मन जितेर काम गर्न बेला भएको हुँदा आपसमा झगडा नगरी एकताबद्ध भएर समृद्ध महाभारत बनाउने काम पनि लाग्नु पर्नेमा जोड दिएका थिए ।

जहाँ कान्छालाललाई गाली, त्यहाँ जनताको ताली
कार्यक्रममा उपस्थित् हुने सहभागीहरुलाई समेत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले रोकेको मात्रै होइन, कार्यक्रममा पुगेको खण्डमा राम्रो नहुने भन्दै धम्की दिएको सुचना आफूहरुले पाएको भन्दै कार्यक्रमका अधिकांश वक्ताहरुले ‘कान्छालाल प्रवृत्ति’ को विरोध गरे ।

कार्यक्रममा उपस्थित् हुन पनि नदिने, कार्यक्रमस्थलको चाबी समेत उपलब्ध गर्न नलगाउन कान्छालालको प्रत्यक्ष संलग्न रहेको आयोजकको आरोप छ । त्यसो त, विभिन्न आरोपहरु लगाउँदै अतिथिहरुले औपचारिक र अनौपचारिक रुपमा कान्छालाल प्रवृत्तिको आलोचना गरे । रोचक कुरा त के छ भने अतिथिहरुले जहाँ कान्छालाललाई गाली गरे, त्यहाँ जनताले ताली बजाएका छन् ।

संघीय सांसद बमध्वजले कार्यक्रमको धेरै समय व्यंग्यात्मक ढंगमा चेतावनीपूर्वक कान्छालाललाई गाली गरे, त्यहाँ पनि सहभागीले ताली पड्काएका छन् । त्यस्तै संविधानसभा सदस्य रामहरि सुवेदीले कान्छालालको तरिका ठीक नभएको भन्दै कान्छालालाई गाली समेत गरेका छन् ।

त्यसअघि नेकपा महाभारतले आयोजना गरेको कार्यक्रममा समेत आफूलाई निम्तो नदिएकोप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘गौडा ढुकेर त्यो कार्यक्रममा नजाउँ भन्ने तिम्रो हैसियत् के हो ? को हौँ तिमी ? हामी नेकपा होइनौँ ? नेकपा निर्माणमा हाम्रो योगदान छैन ? हामीले रगत बगाएका छैनौँ ? अनि कमरेड हाम्रै पार्टीको सांसद, हाम्रो योगदान छैन ? हामी आउने कार्यक्रममा यो व्यवहार किन देखाएको ? हामीसँग च्यालेन्ज गर्ने हो भने हिसाबले गरेर हाम्रो रेडी छौँ ।’ रामहरीले यति भन्दा कार्यक्रममा तालि बजेको थियो ।

कसरी सुरु भयो विवाद
नेकपा काभ्रेमा विवादको श्रृंखला लामो भए पनि महाभारतको गोकुलेमा देखिएको विवादको श्रृंखला भने लामो छैन । विभिन्न पर्वहरुको अवसरमा नेकपा महाभारतले २५ गते देवीटारमा आयोजना गरेको कार्यक्रममा संघीय सांसद बमध्वजसहितका केही जिल्ला सदस्यहरुलाई नबोलाएको उनीहरुको आरोप छ ।

यद्यपी आयोजक पक्षले भने सो कार्यक्रममा खबर गरेको दावी गर्दै आएका छन् । संघीय सांसदसहित उनी निकट महाभारतकै नेताहरुलाई समेत कार्यक्रमबारे खबर नगरेपछि उनीहरुले २९ गतेको कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, नेता सुजन लामा लगायतलाई खबर थिएन । खबरबिना नै गाउँपालिकामा कार्यक्रम आयोजना भएपछि अध्यक्ष जिम्बासहितको टोली आक्रोशित बनेका थिए । त्यसपछि जिम्बा पक्ष रोक्ने र अर्को पक्ष गरेर देखाउने ढंगबाट अगाडि बढ्दा कार्यक्रम ‘जात्रा’ मा परिणत भएको हो ।

पार्टीको नाम दुरुपयोग भयो
तत्कालीन माओवादी केन्द्र महाभारतका इन्चार्ज समेत रहेका नेकपा काभ्रेका जिल्ला सदस्य सुजन लामाले भने पार्टी झण्डाको दुरुपयोग भएको दावी गरे ।

उनले भने, ‘कार्यक्रममा वडा कमिटिका कुनै सदस्य उपस्थित् छैनन्, वडा कमिटिको आयोजना भनेर पार्टी झण्डाको दुरपयोग भयो ।’

सम्बन्धित खबरहरु