एकाएक सम्पर्कविहीन भएको डिएसपी होटलमा युवतीसँग भेटेपछि …

धनगढी/ मंगलबार राति ९ बजेपछि एकाएक सम्पर्कविहीन भए इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी । राति सम्पर्कविहीन भएपछि कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनावमा परे । तुरुन्तै उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो ।

चौधरीको खोजीका लागि राति नै कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वको टोली खटाइयो । त्यस्तै, प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै बनाएर टोली परिचालन गरियो ।

तर, डिएसपी चौधरी भने मोबाइल नै अफ गरेर कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग यौनलिलामा मस्त थिए । बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेपछि उक्त घटना बाहिर आएको थियो । स्रोतका अनुसार उनी, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन् ।

‘केटी लिएर बुढीतोला जानुभएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नुभयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले दिएको जानकारीअनुसार उनी युवतीसँगसहित रंगेहात समातिएका हुन् । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन् । तर अन्तत घटना बाहिर आयो र डिएसपी चौधरीलाई जिल्लामा तानिएसँगै कारबाहीको लागि सिफारिस भयो ।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताए । ‘युवतीसँग भेटिएको कुरामा सत्यता नभएको छैन, त्यसबारे थप अनुसन्धान भइरहेको छ,’ घटनालाई लुकाउन खोज्दै वरिष्ठ उपरीक्षक सिंहले भने, ‘डिएसपी चौधरी सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नुभएको छ ।’

प्रहरी भने अनुसार चौधरीले सूचना संकलन गर्न गएको भने पनि उनीसँग अन्य प्रहरी अधिकृत गएका थिएनन् ।

सम्बन्धित खबरहरु