यसरी गर्न सकिन्छ, कौसी–बरन्डामा खेती

तरकारी तथा फलफुल महँगिँदै गएको अवस्था ‘मेट्रो खेती’ उपयुक्त

काठमाडौँ / कोरोना संक्रमणको बढ्दो फैलावटका कारण भान्छा महँगिँदै गएको छ । तरकारी छोइसाध्य छैन । चाडवाड आउँदा भाउ आकासिने पुरानै चलन हो । अर्कोतिर धमाधम निर्माण हुँदा खेतीयोग्य जमिन मासियो भनिरहेका छौं । घरको छत, कौसी, बरन्डा कसरी सदुपयोग गर्न सकिन्छ, ध्यान दिन सकेका छैनौं ।

यी सबबाट केही राहत पाउने उपाय कौसी खेती पनि हो । तर अधिकांश घरधनीलाई कौसी खेतीबारे ज्ञान छैन । धेरैले त्यति चासो पनि दिएका छैनन् । नगरपालिका तथा वडाहरूले कौसी खेतीबारे विभिन्न कार्यक्रम पनि घोषणा गरेका छन् । त्यसको पहुँचमा सबै छैनन् ।

कौसी छ । बरन्डा छ । ती ठाउँ खाली छन् । अहिले धेरैसँग फुर्सद समय पनि छ । अब यी ठाउँमा कस्तो तरकारी बाली लगाउँदा उपयुक्त हुन्छ ? ठाउँको नापजाँच कसरी गर्ने ? कौसीबालीका लागि कस्तो माटो, भाँडा उपयुक्त हुन्छ ? हरियाली बनाउने चाहना भएर पनि अलमलमा परेका घरधनीलाई ‘मेट्रो खेती’ ले सहज बनाइदिन सक्छ ।

‘अहिले कतिपयले कौसी खेती गरिरहेका छन् तर व्यवस्थित छैन,’ मेट्रो खेतीकी सिइओ प्रलिसा अधिकारी भन्छिन्, ‘खेती कसरी गर्ने भनेर कतिपयलाई आइडिया नै छैन । हामी यी दुवैलाई व्यवहारिक र सैद्धान्तिक सहयोग गर्छौं ।’

युवाहरूको एक समूहले लामो समय लकडाउनमा बस्दा यी उपाय पहिल्याएका हुन् । प्रलिसाका अनुसार मेट्रो खेती टोलीमा चार जना छन् । उनीहरू कृषि, सूचना–प्रविधि, कानुन लगायत क्षेत्रमा अध्ययनरत र कार्यरत रहेको उनले जानकारी दिइन् ।

लकडाउन सुरू भएपछिको संकट टार्न उनीहरूले मेट्रो खेती सुरू गरेका हुन् । कम्पनी भर्खर चार महिनामा दौडिँदैछ ।

मेट्रो खेतीले खेती गरिरहेका कौसी किसानलाई माटो, मल, हाइब्रिड बीउलगायत उपलब्ध गराउँछ । कौसी खेतीमा विकल्प देखिरहेकाहरूलाई एकपटक सहयोग, परामर्श दिएर मात्र नपुग्ने उनी बताउँछिन् ।

‘बीउ लगाउने समय आदि कुरामा निरन्तर परामर्श, सुझाव दिन्छौं,’ उनी भन्छिन्, ‘खेती नै सुरू नगरेकालाई उनीहरूको इच्छा, चाहना आदि विचार गरेर, छत, बरन्डा, कौसीको नापजाँच गरेर सेवा उपलब्ध गराउँछौं ।’

कौसी खेती सुरू गर्न चाहेकाले मेट्रो खेतीसँग सम्पर्क राख्न सक्नेछन् । उनीहरूले प्रतिनिधि पठाएर बरन्डाको अध्ययन गरेर, गमला अथवा अरू सामग्री अट्ने सम्भावनाबारे बताइदिन्छन् ।

स्थानको प्रकृति हेरेर कति फलाउन सकिन्छ, त्यसका लागि खर्च कति लाग्छ भन्ने जानकारीसमेत मेट्रो खेती टिमले दिन्छ ।

‘घरधनीको चाहनाअनुसार जसरी भन्नुहुन्छ, त्यसरी योजना बनाउँछौं । लागत विवरण दिन्छौं । साथै मल, माटो, तरकारी आदि रोपिदिनेसम्म गर्छौं,’ उनी कम्पनीले दिँदै आएको सेवाबारे बताउँछिन्, ‘यी सबै काम गर्दै गर्दा कम्पनीले एकैपटक ठूलो योजनामा काम गर्दैन। एक–दुइटामा काम गरिसकेपछि घरधनीलाई विश्वास हुन्छ, हामीले पनि आफूलाई प्रमाणित गर्छौं ।’

प्रलिसाका अनुसार कौसी खेतीको मुख्य समस्या कीरा(फट्यांग्राबाट जोगाउनु हो । खुम्रा, कमिला आदि कीराले बाली सप्रन दिँदैनन् । खेतबारीमै देखिने रोग कौसीमा पनि देखा पर्छन् ।

कम्पनीले यसलाई घरेलु औषधि प्रयोग गरेर निर्मूल पार्न सुझाव दिन्छन् । मेट्रो खेतीले माटो र कोकोपिटको मिश्रणमा बाली हुर्काउँछ । कोकोपिट भनेको नरिवलको जटा हो । यो माटोमा राख्दा बोटबिरूवामा पानी मात्रा सन्तुलित राख्छ । कोकोपिट राखिसकेपछि गमला अथवा ‘ग्रो ब्याग’ हलुका पनि हुन्छ । यताउता सार्न सजिलो ।

‘माटो, कोकोपिट, मल, बालुवा आदि मिलाएर मिश्रण बनाउँदा तरकारी, सागपात वा फूलमा गुणात्मक नतिजा दिन्छ । फल वा फूल राम्रोसँग हुर्किन्छन्,’ प्रलिसा खेतीको तरिका सुझाउँदै भन्छिन्, ‘कुनै पनि तरकारी लगाउँदा त्यसको जरा कति गहिराइमा जान्छ विचार गनुपर्ने हुन्छ । जरा फैलने बिरुवा सानो गमलामा लगाएर हुँदैन ।’

उनी अगाडि थप्छिन्, ‘एक पटक प्रयोग गर्नेलाई त यी सामान्य जानकारी हुन्। तर पहिलो पटक खेती गर्नेलाई समस्या छ । यी कुरा हामी जानकारी दिन्छौं ।’

वर्षा सकिनासाथ कौसी बगान सुरू गरेको भए मखमली, सयपत्री आदि मौसमी फूल लगाउन सकिन्थ्यो । मुला, चिप्लेभिंडी आदि रोप्न सकिन्थ्यो । अब सागपातको सिजन सुरू भएको छ ।

रायो, चम्सुर, पालुंगो, मेथी लगायत रोप्न सकिन्छ । काउली, बन्दा बेर्ना उमार्ने बेला पनि घर्किइसकेकाले अब बिरुवा मात्रै रोप्न सकिने उनले जानकारी दिइन् ।

कौसीमा मूला, सलगम, गाजर आदि रोप्ने समय बाँकी भएकाले खेती गर्न चाहनेले सम्पर्क गर्न सक्ने उनी बताउँछिन् । भन्छिन्, ‘अहिल ठूलो छत छ भने लहरा जाने काँक्रो, बोडी, सिमी आदि पनि रोप्न सकिन्छ ।’

लकडाउनमै आफूलाई सक्रिय पारेको मेट्रो खेती टिमले चार महिनामा ४ वटा छत हरियाली बनाइसकेको छ । योबीचमा धेरै मानिसलाई आफ्नो कौसी करेसामा थोरै भए पनि विरुवा रोप्ने इच्छा भएको मेट्रो खेती टिमले बुझेको छ ।

‘इच्छा त सबैलाई रहेछ । तर गमला, माटो बीउबारे ज्ञान नभएर अल्छी मान्नु भएको रहेछ,’ प्रलिसा भन्छिन्, ‘सबैको अल्छी हटाउने प्रयासमा छौं ।’

मेट्रो खेतीले बिरुवा रोप्नुलाई कला र ज्ञानका रूपमा लिन पनि सुझाउँछ । आफ्ना नानीबाबुलाई देश दुनियाँ सिकाउन अघि बढेका अभिभावकले खुर्सानी कहाँ कसरी फल्छ देखाउनेतिर ध्यान नदिएको प्रलिसा बताउँछिन् ।

चित्रमा हरेक फूल, तरकारी, सागपात, फलफूल नाम थाहा पाउने बच्चाले प्रत्यक्ष हेर्दा चिन्नै नसक्ने उनको अनुभव छ ।

‘खेती गर्ने, बिरुवा चिन्ने, फूल फूलाउने, फल फलाउने संस्कार हरेक घरमा हुनुपर्छ जस्तो लाग्छ,’ कृषिमा स्नातक सकेकी उनी भन्छिन्, ‘हरेक बाबुआमाको चाहना पनि हो सायद । केटाकेटी टाठोबाठो होस् भन्नेतिर हामीले के गरिरहेका छौं, यो पनि विचार गरौं ।’ समाचार सेतोपाटीमा समीक्षा अधिकारीले लेखिएकी छिन् । त्यस्तै तस्विर पनि सोही अनलाईनबाट नै लिएको हो ।

सम्बन्धित खबरहरु