बार्सिलोनाले युभेन्ट्सलाई हराए, पिएसजी र डर्टमुन्डको पनि जीत

काठमाडौँ/ युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जीत हात पारेको छ । बार्सिलोनाले युभेन्ट्सलाई उसैको मैदानमा २–० ले हराएको हो ।

बार्सिलोनाको जीतमा ओस्मान डेम्बेले र लियोनल मेसीले एक–एक गोल गरे । डेम्बेलेले १४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ८५औं मिनेटमा युभेन्ट्सका डेमिरालले प्जानिकलाई फल गरेपछि दोहोरो पहेंलो कार्ड अतः रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाइएका थिए ।

इन्ज्युरी समयमा पाएको पेनाल्टीमा मेसीले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्‍चित गरे । बर्नार्डेस्कीले अन्सु फातीमाथि फल गरेपछि रेफ्रीले सोझै पेनाल्टी दिएका थिए जसमा कप्तान मेसी चुकेनन् ।

युभेन्ट्स आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना नै मैदानमा उत्रिएको थियो । कोरोना संक्रमण भएका कारण रोनाल्डो अक्टोबरको सुरुवातदेखि नै आइसोलेसनमा छन् । सो क्रममा उनले त्यसयताका राष्ट्रिय टोली र क्लबका खेलहरु गुमाएका छन् ।

पिएसजी र डर्टमुन्डको जीत
त्यसैगरी गएराति नै सम्पन्‍न अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब बोरुसिया डर्टमुन्डले पनि जीत हात पारेका छन् ।

पिएसजीको जीतमा मोइस किनले दुवै गोल गरे । त्यस्तै डर्टमुन्डले जेनिटलाई तथा पिएसजीले इस्तानबुल लाई समान २–० गोलअन्तरले हराएका हुन् । डर्टमुन्डको जीतमा जोडन सान्चो र एर्लिङ हालान्डले १–१ गोल गरेका थिए ।

सम्बन्धित खबरहरु