धुलिखेलमा कोरोनाबाट मृत्यु भएकी बृद्धाको तथ्यांक मन्त्रालयमा गायब

काठमाडौँ/ विद्युतीय शवदाहगृह पशुपतिमा बिहीबार धुलिखेलकी ७० वर्षीया वृद्धाको अन्त्येष्टि भयो । ती वृद्धालाई संक्रमण देखिएपछि धुलिखेल–६ स्थित घरमा आइसोलेसनमा राखिएको थियो । जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नगेन्द्र झाका अनुसार होम आइसोलेसनमा बसेकै बेला उनको मृत्यु भएको हो ।

मृत्युपछि नेपाली सेनाले पशुपति ल्याएर अन्तिम संस्कार गरेको हो, जुन रेकर्ड स्वास्थ्य मन्त्रालयसँग छैन । ‘संक्रमित देखिँदा होस् वा मृत्यु हुँदा, त्यसको विवरण प्रदेशको सामाजिक मन्त्रालयमा पठाएका हुन्छौं, स्वास्थ्य मन्त्रालयमा किन देखिएन, थाहै भएन,’ झाले भने । त्यस्तै, काठमाडौं कलंकीका एक पुरुषको बुधबार घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भयो । उनको शव सेनाले व्यवस्थापन गरिसक्यो तर मन्त्रालयको विवरणमै उनको नाम समावेश छैन ।

रुकुम पश्चिमको त्रिवेणी–७ की ५३ वर्षीया महिलाको गत कात्तिक ५ मा होम आइसोलेसनमा बसेका बेला मृत्यु भयो । तर स्वास्थ्य मन्त्रालयको रेकर्डमा छैन । अस्पतालमा मृत्यु भएकाको विवरण पनि मन्त्रालयले राखेको छैन । कात्तिक १० गते राति टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं–३२, सरस्वतीनगर निवासी ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनको विवरण मन्त्रालयले तयार गरेको मृतकको सूचीमा समावेश छैन ।

त्यसैगरी पशुपति विकास कोषका अनुसार बुधबारसम्म विद्युतीय शवदाहगृहमा ७ सय ७८ जनाको अन्त्येष्टि भइसकेको छ । तीध्ये ३० जनाले होम आइसोसलनमै ज्यान गुमाएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भने घरमै मृत्यु भएकाको संख्या २२ मात्रै छ । यसमा काठमाडौं र भक्तपुरका १० जना छन् । दैलेख, डोल्पा, सुर्खेत, गुल्मी, बझाङ, चितवन, मोरङ, मकवानपुर, झापा र बाँकेमा मृत्यु भएका १–१ जना र महोत्तरीका २ जना छन्  ।

स्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाएका छन् ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या १ हजार ९७ पुग्छ । त्यस्तै नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १ हजार ४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिए । समाचार कन्तिपुर दैनिकको सहयोगमा तयार पारिएको हो ।

सम्बन्धित खबरहरु