खै कसरी दिऊँ म शुभकामना …

♦ हिरा माया घिसिङ

कविताः शुभकामना
खै कसरी दिऊँ म शुभकामना
कसरी पठाऊँ शुभकामना सन्देश
यति खेर मेरो
सोच्ने मस्तिष्क, बोल्ने ओठ
शब्द बग्ने कलम
र,
कलम समाउने हात
काँपिरहेको छ थरथर
पढेको, सुनेको र देखेको
लिखित र अलिखित इतिहासले
अनि,
वर्तमान अवरोधहरुले
प्यारालाइसिस बनाइदिएको छ
भो ईतिहास जे सुकै होस्
बिर्सिन खोज्छु कुल्चिन खोज्छु
रुचाउन खोज्छु सबैको माझ
लेख्न खोज्छु शुभकामना सन्देश
फेरि,
सुन्छु कथ्य वाक्यहरु तिनै इतिहासकै
बुढापाकाहरुबाट प्रत्यक्ष प्रत्यक्ष
घरको भित्ताहरुमा लत्पतिएको
रगतको डामहरुबाट
ढोकामा टाँसिएको
पशुपंक्षीको रगत मिस्रित भुत्लाहरुबाट
दशैँ मनाएको प्रमाण दिएर
ज्यान जोगाउनुपरेको ईतिहास सुनाउँछन्
त्यसैबाट बिक्षिप्त मस्तिष्कलाई
मौलिकताको खोल ओढेर
म्हेनाङबादी बनेका विद्वानहरुको
मिस्रित ज्ञानले अल्मलाइदिएपछि
प्रश्न उठ्छ पटकपटक
त्यसो भए के को विवादरु
दशैँ मनाउन के को आपत्तिरु
उसले मनाउने दशैँ र मैले मनाउने म्हेनङ
भाषा फरक भएपनि
दशैँ र म्हेनङमा फूल्ने उसको फूल र
मेरो म्हेन्दो उस्तै छ
उसले सिन्दुरसंग मिसाएको चामल र
मैले दहीसंग मुछेको म्ह्ला उस्तै
अनि
सिन्दुर मिस्रित र दहि मिस्रित चामलको
टीका लगाउने उसको निधार र
मेरो ङ्हो उस्तै
यिनै समानार्थी कुराहरुको
भावले उत्प्रेरित मस्तिष्कमा
सद्भावको चेतना उत्रेपछि
लेख्न खोजेँ शुभकामना सन्देश
सम्पूर्ण देशबासीहरुका लागि
त्यो भन्दा फराकिलो बनाउँदै
सम्पूर्ण मानव प्राणीहरुका लागि
झन् फराकिलो बनाउँदै
सर्वसत्त्वको लागि
सुख शान्ति र दीर्घायु होस् भनेर
लेख्न खोज्छु शभकामना सन्देश
तर टक्क रोकिदिन्छ कलम
जब आफ्नै आँखा अगाडि
कथित मानव प्राणीको मात्र रक्षा गर्न
कथित पशुपंक्षीको प्राण उपहार लिने
तिनै विभेदकारी दुर्गामाताको
तस्वीर ठिङ्ङ उभेपछि
पुकार्रेँ तिनै मातालाई
यदि सबैको माता हौ भने
सबैको रक्षा गर भन्दै
मनमनै सजाएर
मनमनै अर्पण गरेको
विशुद्ध जल र फूलको बली
उपहार लिएर सबैको रक्षा गर्न
राजी गराएपछि
लेख्न खोजेको शुभकामना सन्देश पनि
एकनाशको हुन सकेन
एक मुष्ट दिन सकिनँ शुभकामना
किन कि,
यहाँ समस्याहरु एक मुष्ट छैनन्
बलिका लागि तयार पारेका
निर्दोष प्राणीहरुको
आफन्त गुमाएर
सोकमा रहेका परिवारहरुको
अभिभावकबाट टिका ग्रहण गर्न
रहर गरिरहेका सन्तानहरुका
टिका र आशिर्वाद दिन
पर्खिहेका आमाबुवाहरुका
बिहान बेलुका छाक टार्न धौधौ भई
जीवन जोखिममा राखेका श्रमिकहरुका
जोखिमको अग्रपङ्तिमा सेवारतहरुका
क्वारेन्टाइन र आइसोलेसनको
कारागारमा थुनिएकाहरुका
त्यो भन्दा सम्वेदनशील
आइसियु र भेन्टिलेटरमा
जीवनको अन्तिम युद्ध लडिरहेका योद्धाहरुका
यी बाहेक सम्बोधन गर्न छुटेका सबै सबैका
समस्या एकनाशका छैनन्
त्यसैले
मेरो शुभकामना सन्देश पनि
एकनाशको हुन सकेन।

खानीखोला–३ काभ्रे

(यो कविता पहिलो पटक दशैँको अवसरमा डाँडापारि सन्देश साप्ताहिकमा ०७७ साल कर्तिक ६ गते प्रकाशित भएको थियो ।)

सम्बन्धित खबरहरु