सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

काठमाडौँ/ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको बताए ।

उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काठमाडौं, काभ्रेसहित विभिन्न जिल्लामा महसुश भएको थियो । पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो ।

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोकबासीमा बुृधबारको भूकम्पले थप त्रास बढेको छ। यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन।

अहिलेसम्म भूक्म्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए ।

यस्तै बाह्रबिसे नगरपालिकाकी उपाध्यक्ष सुशीला पाख्रिनले पनि अहिलेसम्म क्षतिको विवरण नआएको बताइन् । हामी बुझ्दै छौँ । भूकम्पको केन्द्रबिन्दु रहेको राम्चे क्षेत्र बाह्रबिसे–९ मा पर्छ ।’

राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।

सम्बन्धित खबरहरु