तेमालमा दुई दिने सिस्नु पाउडर प्रशोधन तालिम सम्पन्न

काभ्रे/ जिल्लाको तेमाल गाउँपालिका–२ स्थित् च्युखाका किसानलाई सिस्नु पाउडर प्रशोधन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । तेमाल गाउँपालिका, युएनडिपिको सहयोग र शान्ति जन आदर्श सेवा केन्द्रको साझेदारीमा स्थानीय मिलिजुली कृषक समुहद्धारा सञ्चालित तालिम सम्पन्न भएको हो । तालिम स्थानीय किसानको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरिएको थियो ।

समापनमा पुगेका तेमाल गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले सिस्नु पाउडर प्रशोधन कार्यलाई सक्रिया रुपमा निरन्तर गर्न सकिए तेमालबास्ीको आम्दानीको दायरा फराकिलो हुने बताए । ‘कुनै सयम गरिबको चुलोमा मात्रै पाक्ने सिस्नु अहिले सबै वर्गको रोजाईमा परेको छ ।’ उनले भने, ‘औषधीय गुण भएकोले पनि सिस्नुमा सबैको ध्यान पुगेको छ ।’

महिला उद्यमशीलताका लागि संकलन केन्द्र निर्माणदेखी बजारकिरण गरी पहिलो चरणमा तेमालभरी बिस्तारका लागि म सदैव साथ दिन तयार छु । उनले थपे ।

तेपाल गापा–२ का वडाध्यक्ष तिमाल सिं तामाङले तालिमले किसानहरुलाई स्वरोजगार र आर्थिक हिसाबले आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्दै गाउँपालिका र दातृ संस्थाहरुको सहयोगप्रति धन्यबाद व्यक्त गरे । तालिम पछि आफूहरुले छिट्टै अग्र्यानिक सिस्नु पाउडर बजारमा पुर्‍याउने लक्ष्य लिएको बताए । सिस्नु प्रसोधनको लागि आवश्यक ड्रायर मेसिन, पिस्ने, जोख्ने मेसिन लगायतका औजारहरु व्यवस्थापन भइसकेको हुँदा छिट्टै तेमालको अग्र्यानिक सिस्नु पाउडर बजारमा आउने उनले बताए । ।’

शान्ति जनआदर्श सेवा केन्द्रकी कार्यक्रम संयोजक कमल लामाले तालिम उपलब्धीमुलक नै भएको बताए । त्यस्तै तालिमका प्रशिक्षक सञ्चित आलेमगरले सिस्नु पाउडर प्रशोधनलाई उद्योगमा रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

तालिम प्राप्त भएपश्चात् उत्साहित भएका सहभागीमध्येका एक बोइमो तामाङले भनिन्, ‘यसअघि सिस्नुको पाउडर बनाएर बेच्ने गरेको सुनेपनि प्रत्यक्ष देखिएको थिइनँ । तर अहिले तालिम नै लिन पाउँदा खुसी लागेको छ ।’ अझ उनी थप्छिन्, ‘सहि सदुयोग गर्न नजान्दा घरवरिपरि नै खेरा गइरहेको सिस्नुलाई पाउडर बनाई बेच्न सकेमा राम्रो आम्दानीको स्रोत भन्ने रहेछ ।’

सिस्नु मुटुरोग, दम, हाड जोर्नी, बाथ रोग, चिनी रोगका बिरामीहरुका लागि अति उपयोगी हुने गर्छ । कार्यक्रममा तेमाल गाउँपालिकाकी कार्यपालिका सदस्य पार्वती श्रेष्ठ, वडा सदस्य डिल्लीमान दोङ लगायतका सहभागीता रहेका थिए ।

सम्बन्धित खबरहरु