बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि, चुक्यो पिएजी

काठमाडौं । यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । गएराति सम्पन्न प्रतिष्पर्धात्मक फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० लाई १(० ले हराउँदै बायर्न उपाधि जित्‍न सफल भएको हो ।

बार्यनले गरेको एक गोल नै उसलाई छैटौंपटक उपाधि दिलाउन पर्याप्त रह्यो । ६०औं मिनेटमा किङ्सले कोम्यानले गरेको हेडिङ गोल नै निर्णायक बनेको थियो । पिएसजीले दुवै हाफमा पाएका केही अवसरहरुमा गोल गर्न नसक्दा खेलमा फर्कन सकेको थिएन ।

खेलको ९०औं मिनेटमा पिएसजीका एमबाप्पेले वान भर्सेस वानमा प्रहार गरेको शट बायर्नका गोलकिपर म्यानुयल नोयरले उत्कृष्‍ट बचाउ गरेका थिए । यद्यपि उनी अफसाइड पोजिसनमा रहेको निर्णय पछि दिइएको थियो ।

त्यसलगत्तै इन्ज्युरी समयको दोस्रो मिनेटमा पनि पिएसजीले बराबरी गर्ने सुनौलो मौका खेर फालेको थियो । काउन्टर अट्याकमा एमबाप्पेले अगाडि बढाएको मुभमा नेयमारको अन्तिम पासलाई चुपो मोटिङले ६ यार्ड बक्सभित्र छुन नसक्दा बायर्नको अग्रता जोगिइरह्यो ।

बायर्नले पछिल्लोपटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यस सिजन उत्कृष्‍ट फर्ममा रहेको बायर्न च्याम्पियन्स लिगको समूह चरणदेखि नै अपराजित रहँदै आएको थियो । यता पहिलोपटक उपाधि जित्‍ने लक्ष्य राखेको पिएसजीको सपना भने पूरा हुन सकेन ।

सम्बन्धित खबरहरु