खानीखोलामा जीवन सुधारको आर्थिक सहयोगमा कफी नर्सरी (फोटोसहित)

नर्सरीमा १७ हजार कफीको बेर्ना

विजय जिम्बा, खानीखोला, काभ्रे ।
जिल्लाकोे विकट क्षेत्र मानिने खानीखोला गाउँपालिका-५ स्थित ताल्ढुंगामा व्यावसायिक रूपमा नमुना कफी नर्सरी फर्म सञ्चालन गरिएको छ । जीवन सुधार कृषि सहकारी संस्था लि.को पाँच लाख आर्थिक सहयोगमा नमुना कफी नर्सरी फर्म शुरु गरिएको हो ।

युवालाई आफ्नै गाउँमा उद्यमी बनाउने उद्देश्यले सहकारी संस्थाका प्रमुख सल्लाहकार इन्द्र बहादुर थिङ ‘छिन्ताङ’को विशेष पहलमा नर्सरी फर्मको लागि संस्थाबाट आर्थिक सहयोग गरिएको थियो ।

त्यस्तै सहकारी संस्थाको अध्यक्ष दैवलाल घिसिङ ‘अनुशिल’ले खानीखोलालाई कफी पकेट क्षेत्र घोषण गरेसँगै गाउँपालिकामा व्यावसायिक रुपमा कफी खेतीले गर्ने किसान बढेको बताए । ‘खानीखोलामा कफी खेती फस्टाउँदै गएको छ,’ अध्यक्ष घिसिङले भने, ‘खानीखोलामा उत्पादित कफी जिल्लाभित्र मात्रै नभई तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएका छन् ।’

सहकारीको सञ्चालक समितिको सदस्य तथा कर्जा अधिकृत मान बहादुर दर्लामी (सलन)ले नर्सरीमा कफीको १७ हजार बेर्ना राखिएको डाँडापारि सन्देशलाई जानकारी दिए । उनको अनुसार १७ हजार बेर्ना राखिएकोमा केही बेर्ना मरेपनि कम्तीमा १० हजार बेर्ना अन्यत्र सार्न मिल्ने छ । त्यसैगरी सहकारी संस्थाको खानीखोला सेवा केन्द्रको प्रमुख शम्सेर रानामगरले दुई रोपनी क्षेत्रफलको नर्सरीमा कफी विरुवा लगाएको बताए । बिरुवा रोपिएको तीन वर्षमा कफीले फल दिने गर्दछ ।

खानीखोलाको कफी गुणस्तरयुक्त
जिल्लाको खानीखोलामा उत्पादित कफी गुणस्तरयुक्त भएको कफी सम्बन्धित जनाकारहरु बताउँछन् । देशभरीमा उत्पादन हुने कफी मध्ये काभ्रे र त्यसमा पनि डाँडापारि क्षेत्रमा उत्पादित कफी गुणस्तरयुक्त हुने गरेकोले विदेशमासमेत माग बढी भएको उनीहरुको भनाई छ ।

खानीखोला गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर खुलालले कफी खेती र खुवालाई व्यावसायिकरण गरी आम खानीखोलावासीको आय आर्जनको राम्रो र भरपर्दाे माध्यम बनाउन गाउँपालिका विशेष योजनाको साथ लागिरहेको जानकारी दिए । यस क्षेत्रका कफी अमेरिका, जापान र कोरियालगायत मुलुकमा निर्यात हुन थालेपछि अझ फस्टाएको हो ।

सम्बन्धित खबरहरु