खानीखोला गाउँपालिकाकी गर्भवतीलाई हेलिकप्टरबाट उद्धार

गाउँपलिका अध्यक्ष खुलालको पहलमा गर्भवती महिलाको उद्धार

विजय जिम्बा
खानीखोला, काभ्रे । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाकोबाट एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । खानीखोला गाउँपालिका–४ जगथलीपाखाकी २४ वर्षीया निरमाया घलानलाई हेलिकप्टरमार्फत् उद्धार गरीएको हो ।

हेलिकप्टर उडानका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसंग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसंग अनुमति लिई हेलिकप्टर प्रयोग गरि धुलिखेलस्थित धुलिखेल अस्पतालमा पठाएको खानीखोला गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर खुलालले डाँडापारि सन्देसलाई बताए । महाभारत गाउँपालिका–१ स्थित धापमा रहेको गोकुले स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमाफत् अस्पतालमा ल्याएको थियो ।

सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको खानीखोला–४ का वडा अध्यक्ष वीर बहादुर वाईबाले बताए । घलानको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


त्यस्तै, गर्भवती महिलालाई २ दिन पहिले सुत्केरी व्यथाले च्यापेपछि नजिकैको गोकुले स्वाथ्य चौकी लागेकोमा, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलाश हेलिकप्टर सर्भिस प्रा.लि.को हेलिकप्टर मार्फत् उद्धार गरिएको स्थानीय युवा नेता तथा समाजसेवी निशान मोक्तानले जानकारी दिए ।

गोकुले स्वास्थ्य चौकीका इञ्चार्ज प्रवीण कुँवरका अनुसार सुत्केरी व्यथाका कारण साउन १० गते दिउँसो स्वास्थ्य चौकीमा ल्याइएको उहाँको उच्च रक्तचाप, व्यथा लामो हुनु, अग्रिम रक्तस्राव हुनु र पाठेघरको मुख नखुलिएका कारण तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था भएकाले आज गाउँपालिकाको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

डाँडापारि क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले बर्सातका कारण बाटो अवरुद्ध भएर सवारीसाधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो ।

यसरी भयो उद्धार
खानीखोला गाउँपालिका अध्यक्ष खुलालले जिल्ला प्रशासन कार्यालय काभ्रेमा हेलिकोप्टर मार्फत उद्धारको लागि अनुरोध गरेका थिए ।

गाउँपालिकाले दिएको पत्र प्राप्त हुनसाथ जिल्ला प्रशासन कार्यालय काभ्रेले गृहमन्त्रालयमा गाउँपालिकाको समन्वयमा हेलिकोप्टर भाडा व्योहोर्ने गरी उडानको लागि अनुमति मागेको थियो ।

त्यसपछि गृहमन्त्रालयले जिल्ला प्रशासन काभ्रेले पठाएको पत्र भएपश्चात् कोभिड–१९ को सन्दर्भमा नेपाल सरकारबाट तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पुर्ण रुपमा परिपालना गर्ने, गर्भवती महिलालाई अस्पताल भर्ना गरेको रिर्पोट अनिवार्य पेश गर्ने र प्रचलित कानुनले निषेधित गरिएका बस्तुहरुको ओसारपसार गरेमा प्रा.लि. स्वंयम् जिम्मेवारी हुने सर्तसहित हेलिकप्टार उठानको लागि अनुमति दिएको थियो ।

सम्बन्धित खबरहरु