उद्धारपछि अध्यक्ष खुलाललाई नागरिकको धन्यवाद, भन्छन्, ‘हामी खुसी र आभारी छौँ’

काभ्रे । खानीखोला गाउँपालिका काभ्रेका अध्यक्ष कृष्ण खुलाल आफैँ फिल्डमा खटिएर उपत्यकामा अलपत्र आफ्ना नागरिकको उद्धार गरेका छन् ।

लकडाउनका कारण उपत्कायमा कष्टकर जीवन बिताउन बाध्य गाउँपालिकाका नागरिकको शनिबार खुलाल आफैँ फिल्डमा खटिएर सार्वजनिक बसमार्फत उद्धार गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल आफैँको सक्रितामा उपत्यकाका एकसयभन्दा बढी नागरिकको शनिबार उद्धार भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा रहेका नागरिकलाई कोटेश्वर र सातदोबाटोबाट उद्धार गरिएको हो । विभिन्न ठाउँबाट हिडेर बस भएको ठाउँमा आएका नागरिकलाई समेत गाउँपालिकाका अध्यक्ष खुलाल आफैँले आफ्नो गाडीमार्फत उद्धार गरी बससम्म ल्याएका थिए ।

गाउँपालिकाले सबैको स्वास्थ्य परिक्षण गरी नागरिकको उद्धार गरेको हो ।

‘सबैको स्वास्थ्य परिक्षण गरेका छौँ, उपत्यकामा रहेका घर जान इच्छुक नागरिकको हामीले उद्धार गरेका छौँ’ गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालले भने, ‘अब हामी पनौती र बनेपाका नागरिकलाई पनि भोलि उद्धार गर्छौ ।’

गाउँपालिकाले व्यवस्था गरेको बसमार्फत घर जान पाएपछि नागरिकहरु पनि खुसी भएका छन् । खानीखोला ७ का मान बहादुर मोक्तान भन्छन्, ‘सहरमा कष्टकर जीवन बिताउन बाध्य थियौँ, गाउँपालिकाले बसको व्यवस्था गरेर लैजाने काम गर्यो, अध्यक्षज्यु धन्यवादको पात्र हुनुहुन्छ, हामी खुसी छौँ ।’

सम्बन्धित खबरहरु