पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुदै

पनौती, काभ्रे / काभ्रे जिल्लाको धार्मिक तथा पुरातात्विक नगरपालिका पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोका नेपाल प्रमुख क्रिष्टीयन मनहर्टको अवलोकन तथा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको अगुवाईमा पनौती नगरलाई सूचीकृत गराउने कार्य अन्तीम चरणमा पुगेकोसँगै पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लागिएको हो ।

पनौती नगर लगायत आसपासका वडाहरुमा रहेका पौराणिक महत्व बोकेका मठ–मन्दिरलगायत पुराना नेपाली मौलिक घरहरुलाई समेत विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मंगलबार युनेस्कोका नेपाल प्रमुख मनहर्टले पनौती नगरपालिकाको अवलोकन भ्रमण गरेका छन् । भ्रमणको क्रममा युनेस्को प्रमुख मनहर्टले छिटै पनौती नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए ।

पनौती नगरभित्र रहेका ७२ वटा पुराना शैलीका मौलिक परम्परा बोकेका घरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आर्पी फाउण्डेशनले नगरपालिकाको सहयोगमा डिपिआर सम्पन्न गरेको छ । आर्पी फाउण्डेशनका अध्यक्ष रविन्द्र पुरीले पनौती नगरपालिकाका प्रमुख न्यौपानेलाई मंगलबार ७२ वटा घर पुननिर्माण गर्ने डिपिआर हस्तान्तरण गरेका हुन् ।

एक करोड बजेट समेत विनियोजन
नगरपालिका र आर्पी फाउण्डेशनको साझेदारीमा ७२ घरहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि नगरले अर्थिक वर्ष २०७६÷०७७ मा एक करोड रुपैया बजेट समेत विनियोजन गरेको नगरप्रमुख भीम न्यौपानेले बताए ।

त्यस्तै बाह्रवर्षे मकरमेला हुनुभन्दा अगाडी पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत हुने नगरप्रमुख न्यौपानेको दावी छ । अहिले पनौती गरपालिकामा पुरातत्व विभागले मठ–मन्दिर लगायत पुराना शैलीका घरहरुलाई पुनर्निर्माण गर्ने काम धमाधम गरिरहेको छ ।

सम्बन्धित खबरहरु