कम्युनिष्ट विचारधारा–किराँती

विचारधारात्मक तथा राजनीतिक कार्य्दिशा सही र गलत विन्यासले सबै कुराको निर्धारण गर्छ । यो सही भए सबै चिज प्राप्त गर्न सकिन्छ र गलत भए प्राप्त भएको पनि गुम्दछ ।” माओको यो उद्गार साँचो कम्युनिस्ट पार्टीका लागि न्यूनतम् नीतिवाक्य हो । वस्तुतः कार्य्दिशा भनेको निश्चित गन्तव्यमा पुग्ने बाटो हो । यसकारण वैज्ञानिक, वस्तुवादी र सही बाटो तय गरियो भने गन्तव्य टाढा र घुमाउरो भए पनि लक्ष्यमा अवश्य नै पुग्नसकिन्छ । कम्युनिस्ट पार्टीको कार्य्दिशा भनेको रणनीतिक गन्तव्यमा पुग्ने मार्ग्चित्र हो । यसमा सही कार्य्दिशामार्फत बलिदानीपूर्ण, कष्टसाध्य र घुमाउरो बाटो हुँदै उन्मुक्त मानव समाज निर्माण गरिन्छ ।
पछिल्लो समय नेकपाभित्र कार्यदिशाको विवाद निकै पेचिलो बन्दै गएको छ । यद्यपि औपचारिक बहस भने प्रारम्भ भएको छैन । वस्तुतः कार्य्दिशा भनेको रातारात निर्धारण गर्ने विषय होइन । यसकारण एकता प्रक्रियाको आरम्भदेखि नै यसलाई थाँती राखिँदै आएको छ । आगामी एकता महाधिवेशनबाट कार्य्दिशाको मुद्दा टुङ्ग्याउने सहमती भएको छ । तर समयक्रम वित्तै जाँदा आज नेकपाभित्र आआफ्नो पृष्ठभूमिगत गायत्रीमन्त्ररुपी कार्य्दिशाबारे मनोगत बहस, छलफल र लेखरचनाहरु प्रकाशित हुनेक्रम बढिरहेको छ । यो जताबाट नापे पनि सही होइन । यसले क्षणिक भावनात्मक तरङ्ग र माहौल त सिर्जना गर्ला । गुटगत सन्तुष्टि र उद्वेलना पनि पैदा गर्ला । तर भावनात्मक र लहड्मुखी रवैयाले कम्युनिस्ट आन्दोलनमा सहयोगी कार्य्दिशा विन्यास गर्न सक्दैन । अर्थात राजनीतिक कार्य्दिशा किटान जस्तो महत्त्वपूर्ण मुद्दा गणितीय जोडघटाउ, भावनात्मक र प्राविधिक आयामले निर्धारण गर्दैन । किनकि कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य र औचित्य गणितभन्दा विचारले निर्धारण गर्छ ।

वस्तुतः बिना कुनै उद्देश्य र गन्तव्य कार्य्दिशा तय गरिँदैन । हामी कहाँ जानुपर्ने हो ? कसरी जानुपर्ने हो र केको लागि जानुपर्ने हो ? भन्ने समग्र सन्दर्भ किटान नगरी कार्य्दिशाकोे मार्ग्चित्र कोर्न सकिन्न । अर्थात सर्व प्रथमतः उद्देश्य किटान गरेपछि मात्र कार्य्दिशा तय गरिन्छ । यसले के स्पष्ट हुन आउँछ भने, हामी कम्युनिस्ट आन्दोलनको कार्यभार पूरा गर्र्नुपर्ने ऐतिहासिक सन्दर्भमा छौँ भने यसले नितान्त फरक राजनीतिक कार्य्दिशाको माग गर्छ । किनकि कम्युनिस्ट आन्दोलन भनेको छुट्टै वर्गीय आन्दोलन हो । यसको ऐतिहासिक प्रक्रिया, रणनीतिक उद्देश्य र गन्तव्यहरु सारभूतरुपमै भिन्न हुन्छ । अर्थात औसत संसदीय लोकतान्त्रिक दलहरु र कम्युनिस्ट पार्टी बीचमा राजनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यमा आकाशधर्ती फरक हुन्छ । कामकारबाहीहरु पनि भिन्न हुन्छ । यसो भएपछि राजनीतिक कार्य्दिशा पनि आधारभूतरुपमै फरक हुनजान्छ । औसत लक्ष्यको लागि औसत कार्य्दिशा भए पुग्छ । तर कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य सुहाउँदो कार्य्दिशा विन्यास गर्ने विषय असाध्यै गम्भीर र पेचिलो प्रक्रिया हो ।

मूलतः सही, वस्तुवादी र सामाजिक अन्तरविरोध सुहाउँदो कार्य्दिशा निर्माणले मात्र क्रान्तिकारी राजनीतिक समाधन दिनसक्छ । यसका लागि खास समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विकासक्रमको गहिरो अध्ययन गर्न‘पर्छ । प्रधान र गौण अन्तरविरोध अनि आन्तरिक र बाह्य दुस्मनको सन्दर्भमा सचेत हुनुपर्दछ । अर्थात समाजको वर्गीय चरित्र र त्यसले पैदा गरिरहेको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अन्तरविरोधहरुको सुस्पष्ट ज्ञान हुनुपर्दछ । नेपाली समाजको ऐतिहासिक विकासक्रमलाई हेर्ने दृष्टिकोणमा पनि एकरुपता छैन । राजतन्त्रको अन्त्यपछि धेरैले नेपाली समाजले सामन्तवादी चरित्र गुमाइसकेको साथै पुँजीवादी जनवादी चरणमा प्रवेश गरिसकेको दाबी छ । सामन्तवादी उत्पादन सम्बन्ध एकाएक पुँजीवादी उत्पादन पद्धतिमा बदलिएको ठहर गरिँदैछ । तर सारतः पुँजीवादी गणतन्त्र आए पनि यसको वर्गचरित्रको दृष्टिबाट हेर्ने हो भने अझै पनि यसको चरित्र अर्धसामन्तवादी रहेको छ । समाजमा पुरानो राजनीतिक विरासत अस्तित्वमा रहनु यसैको उपज हो ।

वस्तुतः समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विकासक्रम अनुरुप नै कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्य्दिशा विन्यास गर्न‘पर्दछ । यो तर्क नभएर सार्वभौम कुरा हो । कुनै पनि खास समाजको ऐतिहासिक विकासक्रम अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ भने यसको राजनीतिक कार्य्दिशा २१औँ शदीको जनवाद वा जनताको बहुदलीय जनवाद आदि हुनसक्छ । यता पुँजीवादी भइसकेको हो भने यसले समाजवादी वा समाजवादउन्मुख कार्य्दिशाको माग गर्दछ । यसकारण राजनीतिक कार्य्दिशा तय गर्नका लागि सबैभन्दा पहिला नेपाली समाजको चरणगत ऐतिहासिक द्वन्द्वात्मक विकासक्रम यकिन गर्न‘पर्छ । यो कार्य्दिशा सम्बन्धी सार्वभौम सत्य हो । कसैले अर्धसामन्ती र अर्ध औपनिवेशिक अनि कसैले पुँजीवाद जनवादी भनेर दाबी गरे पनि यसको वस्तुगत चरित्र कुन हो भन्ने सन्दर्भ अझै ठोस गरिएको छैन । कसैले बनिबनाउ रूपमा दाबी गर्ने कुरा र समाजको असली चरित्र फरक सवाल हो । यही द्विविधा र अन्यौलताकै कारण सही र वस्तुवादी कार्य्दिशा विन्याश गर्ने मुद्दा निरन्तर बहसमा मात्र सीमित हुँदैआएको छ ।

अर्को्तिर कम्युनिस्ट पार्टीको समग्र राजनीतिक प्रक्रिया, उद्देश्य र गन्तव्य सारभूत रूपमै भिन्न हुन्छ । औसत राजनीति र यसद्वारा निर्दे्शित कार्य्दिशाद्वारा भिन्न राजनीतिक प्रक्रिया पूरा हुँदैन । यसका लागि सबभन्दा पहिला कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त वा रणनीति अनुरुपको वर्गीय राज्यसत्ता अनिवार्य हुन्छ । अर्थात कम्युनिस्ट कार्य्दिशा लागू गर्न कम्युनिस्ट राज्यसत्ता पहिलो शर्त हो । राज्यसत्ताविनाको राजनीतिक प्रक्रियाले कम्युनिस्ट रणनीतिक उद्देश्य हासिल गर्दैन । त्यो त केवल रूपमा कम्युनिस्ट कार्य्दिशा, लोगो, झण्डा, व्यानर र नारा भए पनि सारमा औसत चुनावी राजनीतिको गुरुत्वकेन्द्र वरिपरि घुमिरहन्छ । चुनाव केन्द्रित राजनीतिले क्रान्तिकारी र वैज्ञानिक कार्य्दिशा माग गर्दैन । औसत अर्थराजनीतिक उद्देश्यका लागि औसत कार्य्दिशा भए पुग्छ । तर कम्युनिस्ट आन्दोलनको ऐतिहासिक रणनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यलाई सम्बोधन गर्न क्रान्तिकारी कार्य्दिशा अपरिहार्य हुन्छ । त्यसैले कम्युनिस्ट आन्दोलनमा कार्य्दिशाको बहसले ऐतिहासिक दूरगामी राजनीतिक महात्त्व बोकेको हुन्छ । यो चानचुने कुरा होइन ।

विशेषतः हामी कम्युनिस्ट आन्दोलन निर्माणको ऐतिहासिक प्रक्रियामा छौँ भने सोही अनुरुपको राजनीतिक कार्य्दिशा जरुरी हुन्छ । किनकि कम्युनिस्ट आन्दोलन भनेको निरन्तर ऐतिहासिक प्रक्रियामा विकास हुने वर्गीय आन्दोलन हो । यसका लागि वर्गीय राजकीय सत्ताको गठन पहिलो शर्त हुनजान्छ, जसले समाजवाद हुँदै साम्यवादसम्मको रणनीतिक अर्थराजनीतिक पद्धतिगत आन्दोलनको वकालत गर्दछ । लामो ऐतिहासिक प्रक्रियामार्फत मान्छेको पश्चगामी र यथास्थितिवादी सोचाइ, मनोविज्ञान, संस्कृति र आचरणहरुमा क्रान्तिकारी रूपान्तरण गर्न‘पर्दछ । यो लामो, कठिन र कष्टसाध्य प्रक्रिया हो । अर्थात आन्दोलनको निरन्तर ऐतिहासिक प्रक्रियाद्वारा सामाजिक रूपान्तरण गर्ने क्रान्तिकारी आन्दोलनका लागि औसत कार्य्दिशा सहयोगी हुँदैन । यसका लागि क्रान्तिकारी कार्य्दिशा जरुरी हुन्छ । कार्य्दिशा सही भएन भने कम्युनिस्ट आन्दोलन रणनीतिक उद्देश्यमा पुग्न सक्दैन । तब समग्र प्रक्रिया औसत चुनावी राजनीतिमा रुमलिन पुग्दछ, जसले कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दछ ।

पछिल्लो समय नेकपाभित्र कार्य्दिशासम्बन्धी अनौपचारिक भनाभन सुरु भएको छ । कार्य्दिशाको सन्दर्भमा यो वा त्यो गायत्रीमन्त्र जप्ने कुरा निर्णायक होइन । मुख्य विषय नेकपाले अङ्गीकार गर्ने राजनीतिक लाइन र कम्युनिस्ट आन्दोलनको सवाल हो । मूलतः क्रान्तिकारी राजनीतिक लाइनका लागि कार्य्दिशा पनि क्रान्तिकारी नै हुनुपर्दछ । अर्थात सही कार्य्दिशाको बलद्वारा नै कम्युनिस्ट आन्दोलन अघि बढ्नेगर्दछ । २१औँ शदीको जनवाद कि जनताको बहुदलीय जनवादभन्दा पनि यसले आत्मसात गरिरहेको कम्युनिस्ट आन्दोलनको वर्गचरित्र, उद्देश्य र गन्तव्य मुख्य पक्ष हो । अर्थात खास कम्युनिस्ट पार्टीमा जति बढी सैद्धान्तिक दृढता हुन्छ सिद्धान्ततः त्यही मात्रामा क्रान्तिकारी कार्य्दिशा जरुरी हुन्छ । जति विचारधारात्मक धरातल कमजोर हुन्छ उति नै टालटुले कार्य्दिशाको माग गर्दछ । यो कार्य्दिशा सम्बन्धी द्वन्द्वात्मक सार्वभौमिकता हो । यसकारण अब नेकपाको रणनीतिक उद्देश्य अमुक विकास र समृद्धि, सबैभन्दा ठूलो पार्टी बन्ने, बहुमत ल्याउने, सरकार गठन र विघटन गर्ने, जसरी पनि आवधिक चुनाव जित्ने, सांसद, मन्त्री बन्ने, बहुमत, अल्पमतको औसत राजनीतिक खेलमा सीमित हुने हो भने कार्य्दिशाको सन्दर्भमा धेरै बहस आवश्यक पर्दैन । यति नारा त नेपाली काँग्रेसले पनि लगाइरहेकैछ, जसले कार्य्दिशाको सवालमा कहिल्यै टाउको दुःखाएको छैन ।

– राजेन्द्र किराँती

सम्बन्धित खबरहरु

‘व्यवस्था’ प्रति खतरा बढेकै हो ?

१८ भाद्र २०७६, बुधबार ११:३१

विचौलियाको मारमा कृषक

१० जेष्ठ २०७६, शुक्रबार ०७:०६