गाउँपालिकाको केन्द्रबाटै जग्गा पास गर्नेमा देशकै पहिलो बन्यो ‘महाभारत’

काभ्रेपलाञ्चाेक । स्थानीय सरकार निर्वाचित भएपछि गाउँपालिकाको केन्द्रबाट नै जग्गा पास गर्नेमा जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत देशकै पहिलो गाउँपालिका बनेको छ ।
स्थानीय सरकारलाई प्राप्त अधिकारअनुरुप पहिलोपटक महाभारतले गाउँपालिकाको केन्द्र देवीटारबाट गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गा पास गर्दै नयाँ रेकर्ड बनाएको हो । यससँगै गाउँपालिकाले अब कार्यालय निर्माणको काम अगाडि बढाउने भएको छ ।
गाउँपालिकाको कार्यालय निर्माणका लागि स्थानीय सुनबहादुर लामा लगायतले १५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । जग्गाको मूल्य स्थानीय चलनचल्तीको मूल्यअनुसार ४५ लाख पर्छ । उक्त जग्गाको पास गाउँपालिकाको केन्द्रबाट गर्दै महाभारतले नयाँ रेकर्ड बनाएको हो । गाउँपालिका प्रमुख कान्छालाल जिम्बा ‘संसार’, मालपोत कार्यालयका काभ्रेका अधिकृत भोला घिमिरे, नापी सर्वेक्षक नवीन खत्री लगायतका कर्मचारीहरुको उपस्थितिमा जग्गा पास भएको हो । बुधबार मात्रै जग्गा पासका सबै प्रक्रिया सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्रबाटै जग्गा पास भएपछि गाउँपालिका प्रमुख जिम्बाले केन्द्रीय सरकारले स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन स्थानीयस्तरमै हुने प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय केन्द्रबाटै जग्गा पास गरेर हामीले संघीयताको व्यावहारिक कार्यान्वयनको थालनी गरेका छौँ, क्रमश अरु अधिकारलाई पनि स्थानीयस्तरबाटै कार्यान्वयनमा लैजाने योजना छ’ डाँडापारि सन्देशसँग उनले भने ।
कार्यालय निर्माण भएसँगै स्थानीयलाई गाउँपालिकाबाट अन्य सेवा सुविधा प्रदान गर्ने गाउँपालिकाको तयारी छ ।
संविधानको कार्यान्वयनसँगै संघीय व्यवस्थाअनुरुप स्थानीय सरकारलाई नागरिकता बनाउने, एफएम रेडियो सञ्चालनका लागि अनुमति दिने, कलेज सञ्चालनमा ल्याउने, १५ शय्याको अस्पताल बनाउन पाउने लगायतको अधिकार दिएको छ ।
गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गर्ने बल लगायतलाई गाउँपालिकाले विशेष कार्यक्रम गरेर सम्मान गर्ने प्रमुख जिम्बाले जानकारी दिए । ‘कार्यालय अभावले कार्यसम्पादन नै प्रभावित भइरहेको गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गा प्रदान गरी सहयोग गर्नुहुने सबैलाई गाउँपालिकाले विशेष कार्यक्रममार्फत सम्मान गर्छौ, म यो पत्रिकामार्फत पनि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ प्रमुख जिम्बाले भने ।
स्थानीयमा खुसियाली
गाउँपालिकाको केन्द्रबाटै जग्गा पास भएपछि महाभारतवासीमा खुसियाली छाएको छ । गाउँपालिकाको उक्त कार्यले सदरमुकाम धुलिखेल पुगेर १० हजारभन्दा बढी खर्च गर्दा पनि जग्गा पास गर्नुपर्ने बाध्यता झेल्दै आएका स्थानीयको समस्या हटेपछि खुसियाली छाएको हो । ‘धुलिखेलमा गएर हजारौँ खर्च गर्दा पनि जग्गा पास नहुने समस्या ट¥यो, बल्ल हाम्रो घरदैलोमै सरकार आएको अनूभुति भएको छ, अन्य सेवाहरु पनि स्थानीय स्तरबाटै दिने व्यवस्था गरिदिए अझ राम्रो हुन्थ्यो’ स्थानीय विकास मोक्तानले भने । मोक्तानसँगै गाउँपालिकाका ८ वटै वडाका स्थानीयले पनि गाउँपालिकाको केन्द्रबाट जग्गा पास भएकोमा खुसी व्यक्त गरेका छन् ।
भूमिसुधारमन्त्री भन्छन्, ‘जनतालाई परिवर्तनको अनूभुति दिलाउने कार्य’
यसैबीच भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सबै स्थानीय तहले केन्द्रीय सरकारको नीति अनुरुप काम अगाडि बढाउन सकेको खण्डमा जनताले परिवर्तनको अनूभुति गर्न सक्ने भन्दै महाभारत गाउँपालिकाले देशभरिमै पहिलोपटक स्थानीय केन्द्रबाट जग्गा पास गरेकोमा धन्यवाद दिए ।
जनप्रतिनिधिले जनउत्तरदायी बनेर काम गरेको खण्डमा स्थानीय स्तरबाटै जनतालाई सेवा दिन सकिने बताउँदै उनले भने, ‘नयाँ संविधान प्राप्त भएसँगै यसको व्यावहारिक कार्यान्वयनका क्रममा उहाँले चालेको कदमको म खुलेर प्रशंसा गर्न चाहन्छु, अब देशैभरका स्थानीय तहले प्राप्त अधिकारको सदुपयोग गर्नुपर्छ ।’
याे समाचार काभ्रेबाट हरेक बिहीबार प्रकाशित हुने डाँडापारि सन्देशमा छापिएकाे छ ।